काठमाडौं । मनाङ मर्स्याङ्दी एएफसी कपको समूह चरणकोखेलमा भारतीय क्लब मिनर्वा पन्जाबसँग बराबरी खेलेको छ ।
बुधबार घरेलु मैदान एन्फा कम्प्लेक्समा भएको खेलमा समूह ई मा रहेको मनाङले घरेलु मैदानमा पञ्जाबविरुद्ध १–१ गोलको बराबरी खेलेको हो ।
खेलमा मनाङको तर्फबाट विदेशी खेलाडी ओलुवासिना अजिजले एक गोल गरे भने पञ्जावको लागि थोइबा सिंहले एक गोल गरे ।
खेलको ३९औं मिनेटमा पञ्जाबका लागि थोइबा सिंहले टीमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा डिफेन्डर प्रथिक जोशीले रातो कार्ड खाँदै मैदान छोडेपछि पञ्जाब १० खेलाडीमा सीमित भएको थियो ।
यद्यपी मनाङले पञ्जाबको कमजोरीको फाइदा उठाउन सकेन। ८१औं मिनेटमा मनाङले गोल फर्काएर खेल बराबरी मात्र गर्न सक्यो ।
मनाङका लागि विदेशी खेलाडी ओलुवासिना अजिजले गोल गर्दै मनाङलाई हारबाट जोगाएका थिए । बाँकी समयमा मनाङले आक्रामक खेल खेले पनि गोल गर्न सफल भएन ।
यो खेलमा बराबरी खेलेसँगै चार खेल सकिदासम्म पनि मनाङ जीतविहीन नै रहेको छ । चार खेलमध्ये दुई खेलमा हार र दुई खेलमा बराबरी खेलेको मनाङको २ अंक छ । पञ्जाबको भने चार खेलबाट चार अंक छ ।