काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई क्याटलान सरकारले ‘क्रेउ डे सान्ट जोर्डी–२०१९’ अवार्डबाट सम्मान गरेको छ ।
बार्सिलोनाका कप्तान मेस्सीलाई फुटबलको माध्यामबाट क्याटलान क्षेत्रको प्रतिष्ठा विश्वभर फैलाएको भन्दै यस अवार्ड प्रदान गरिएको हो । यस अवार्डलाई क्याटलान सरकारको सबैभन्दा सम्मानित र ठूलो अवार्ड मानिन्छ ।
फुटबलका माध्यमबाट क्याटलानको समृद्धिमा योगदान दिएको, विभिन्न च्यारिटी तथा सामाजिक कार्यमार्फत समाजलाई उच्च योगदान दिएकाले मेस्सील यस अवार्डको हकदार बनेको उल्लेख गरिएको छ ।
क्याटलानका राष्ट्रपति क्विम टोरराले मेस्सीलाई अवार्ड प्रदान गरेका थिए । अवार्ड ग्रहण समारोहमा मेस्सी परिवारसहित गएका थिए ।
यस अवार्ड पाउने मेस्सी दोस्रो फुटबलर बनेका छन् । यसअघि सन् २००६ मा फुटबलर जोन क्रुइजफलाई यस अवार्ड प्रदान गरिएको थियो ।