काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनको नेतृत्व चयन गर्दा आफुलाई अपमान गरेको भन्दै अनेरास्ववियु(क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ राजीनामा दिने बताएका छन् ।
नेकपा सचिवालयले बिहीबार विद्यार्थी संगठनको संयोजक ऐन महर र तामाङलाई सहसंयोजक तोकेपछि असन्तुष्टि रहेकाउनले उक्त निर्णय गरेका हुन् ।
तामाङले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको जोडबलमा महरलाई संयोजक बनाइएको आरोप लगाएका छन् ।
तामाङ भने, ‘यो मेरो अपमान हो, नविना लामा संयोजक भएको भए म सहसंयोजक बन्थें । तर, महासचिवको मुनि बस्ने कुरा हुँदैन ।’
नेकपाले अन्य जनवर्गीय संगठनहरुको संयोजक पहिले अध्यक्ष जो थियो उसैलाई तोकेको छ । तर महासचिवलाई एकैपटक संयोजकको जिम्मेवारी दिइएको विद्यार्थी संगठनमा मात्र हो ।
त्यसैले तत्कालीन अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले यसरी जिम्मेवारी तोकिनुलाई विधि विपरित भनेर टिप्पणी गरेका छन् ।