काठमाडौं । नुवाकोटको पैरबेसीमा निर्माणाधीन त्रिशुली थ्री बी हब सबस्टेशनको निर्माणको काम सुचारु भएको छ ।
बिहीबार विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङ निर्माणस्थलमा आक्रोशित मुद्रामा प्रस्तुत भएपछि रोकिएको काम सुचारु भएको छ ।
बिहीबार घिसिङ त्रिशूली थि ‘ए’ आयोजनाको उत्पादन सुरुआत गर्न नुवाकोट र रसुवाको सीमा क्षेत्रमा पुगेका थिए । तर २ दिनदेखि रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ४ का स्थानीयले त्रिशूली नदी किनारमा सब स्टेशनको सुरक्षाका लागि पर्खाल लगाउँदै गर्दा अवरोध पुर्याएर काम रोकेपछि उनि आक्रोशित भएका थिए ।
त्रिशूली बेसिनमा निर्माणाधीन आयोजनाको विजुलीका लागि निर्माण भइरहेको सबस्टेसन नजिकै ‘दिनमै मुलुकलाई करोडौं क्षति हुन्छ, त्यसको जिम्मा कसले लिने ?’ भन्दै कुलमानले काम रोक्ने केही स्थानीयसँग आक्रोश पोखेका थिए ।
आयोजनाले आफ्नो निर्माणस्थलतर्फ पर्खाल लगाउनुअघि नै रसुवातर्फको भागमा पनि ५ सय मिटरको पर्खाल निर्माण गरिसकेको छ । स्थानीयको माग अनुसार नै खाल्डो खनिसकेपछि पनि १३ मिटर पछाडि सारेर पर्खाल निर्माण थालिएको थियो ।
निर्माण अगावै त्यहाँ सबस्टेशन राख्न सहमति जनाएका रसुवातर्फको स्थानीयले अहिले भने पटक–पटक विभिन्न माग तेस्र्याएर अवरोध पुर्याउँदै आएका छन् ।
करिब ६ सय मेगावाट विजुली आपूर्ति गर्ने उद्देश्यसहित बनिरहेको सब स्टेशनको निर्माणमा ढिलाइ भए निर्माणाधीन रसुवागढी, माथिललो सान्जेन र सान्जेनको करिब २ सय मेगावाट विजुली खेर जान्छ ।