२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’ बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न आदेश भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू औद्योगिक क्षेत्रको वक्यौता विवादः अदालतको फैसलाअनुसार रकम नलिए उद्योग ठप्प पार्ने उद्योगीहरूको चेतावनी मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध विपद् व्यवस्थापनमा प्रभावकारी भुमिका खेल्न स्थानीय सरकारलाई नेपाली काँग्रेसको निर्देशन एच३ रकेट सफल पुनःउडानमा फर्कियो ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद ‘बीटुबी’ र एकीकृत वित्तीय प्रणालीमा आइएमईको ध्यान, नवप्रवर्तनमा जोड दिन अध्यक्ष ढकालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भवतीको घरमै भिडियो एक्स–रे सेवा



अ+ अ-

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ । नपाले गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवासमेत उपलब्ध गराएको हो ।

गर्भवती महिलाको घरमै भिडियो सेवासहितको गर्भजाँच कार्यक्रमको नपास्थित वडा नं १ अनैकोट र १३ नं वडाको कोशीदेखाबाट शुरु गरिएको नपा उपप्रमुख लक्ष्मी दनुवारले बताउनुभयो । उहाँले भन्नुभयो, “नपाभित्रका गर्भवती महिलाको गर्भजाँच स्वास्थ्यकर्मी टोलीले भिडियोसहित शुक्रबारबाट काम शुरु गरेका छन् ।”

उहाँका अनुसार समयतालीका बनाएर गर्भवती महिलाको घरमै गई सेवा दिइनेछ । ‘गर्भवती घरदैलो सेवा’ कार्यक्रमअन्तर्गत शुरुमा गर्भवती महिला पहिचान गरी सूचीकृत गरिनेछ । त्यसपछि हप्ताको एक दिन एउटा वडामा पुगेर गर्भवती महिलाको गर्भजाँच सेवा दिइने उपप्रमुख दनुवारले जानकारी दिनुभयो ।

एक महिलाले कम्तीमा तीनपटक गर्भजाँच गराउनुपर्ने हुन्छ । सोहीअनुसार नपाले एक महिला गर्भवती भएपछि उनको गर्भ तीनपटक भिडियो एक्से–रे गरेर जाँच गरिनेछ । गर्भजाँचका क्रममा गर्भवती महिलाको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा रहेको पाइए पाँचखालस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क उपचार गराइने र उक्त केन्द्रमा उपचार सम्भव नभए अन्य अस्पतालमा सिफारिश गरिने व्यवस्था मिलाइएको छ ।

नपाभित्रका अधिकांश गर्भवती महिलाले गर्भजाँच नगराएको पाइएपछि अकालमै आमा र बच्चाको मृत्यु नहोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको नपा उपप्रमुख दनुवारले बताउनुभयो । ‘गर्भवती घरदैलो सेवा’ कार्यक्रमसँगै प्रत्येक वडामा नगर कार्यपालिका प्रतिनिधि तथा स्वास्थ्य कर्मचारीको सहभागितामा घुम्ती बैठक गरिने भएको छ ।

“घुम्ती बैठकबाट वडामा देखिएका स्वास्थ्य समास्याबारे छलफल गरी समाधनका उपाय खोजिनेछ”, नपा उपप्रमुख दनुवारले भन्नुभयो । १४ वडा रहेको पाँचखाल नगरमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र छ भने प्रत्येक वडामा एउटा स्वास्थ्यचौकी छन् ।