१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो आयो पाँचथर आरुबोटे मा भएको नौ जना हत्याकाण्डको रिर्पोट



अ+ अ-

काठमाडौं । पाँचथरको मिक्लाजुङ, आरुबोटेमा एकै जनाले नौ जनाको हत्या गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रारम्भिक निष्कर्ष निकालेको छ । जेठ ६ गते दुई परिवारका ९ सदस्यको हत्या एक्लैले गरेपछि मानबहादुर माखिमले आत्महत्या गरेको ब्युरोको भनाइ छ ।

साता लामो अनुसन्धानपछि ब्युरोको टोली पाँचथरबाट फर्किसकेको छ। अनुसन्धानको नेतृत्व गरेका एसएसपी उमा चतुर्वेदी ब्युरोबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय सिरहाको नेतृत्व सम्हाल्न पुगिसकेका छन्। टोलीले सामूहिक हत्यामा अरू कसैको प्रत्यक्ष, परोक्ष सहयोग थियो कि भन्नेतर्फ अनुसन्धान केन्द्रित गरेको थियो। घटनामा अन्यको संलग्नता पुष्टि हुने संकेत नभेटिएको र एक्लैले हत्या गरेको प्रारम्भिक निष्कर्ष निस्किएको चतुर्वेदीले कान्तिपुरलाई बताए।

स्थानीयले एक्लै त्यतिका धेरैको हत्या छोटो समयमै गर्न नसक्ने र घटनामा अरूको पनि संलग्नता हुन सक्ने शंका गरेका थिए। ब्युरोले हत्या प्रकरणको केन्द्रमा रहेका माखिमसँग नजिकको संगतमा रहेकाहरू घटनाका दिन कहाँ थिए भनेर पत्ता लगाउन तिनीहरूको मोबाइल लोकेसन झिकाएर अनुसन्धान गरेको थियो। ‘घटनाका बेला उसका नजिकका साथी फरक-फरक लोकेसनमा देखिए,’ब्युरो स्रोतले भन्यो। धेरैसँग नजिकको संगत नगर्ने र एकलकाँटे स्वभावका मानबहादुरले त्यति ठूलो घटना गराउन कसैलाई आर्थिक प्रभावमा पारेको वा कसैलाई उपयोग गरेको नभेटिएको ब्युरोका एक अनुसन्धान अधिकारीको भनाइ छ।

ब्युरोले मानबहादुरलाई सामूहिक हत्या गर्न कसैले उक्साएको थियो कि भन्नेतर्फ पनि अनुसन्धान गरेको थियो। तर ब्युरोले अनुसन्धानका क्रममा त्यस्तो प्रमाण फेला पारेन। घटनामा मारिएका धेरैजसो प्रतिकार गर्न सक्ने उमेरका नरहेको र सुरुमै साढुदाइको हत्या गरेपछि उसले अरूको हत्या गरेको अनुसन्धानले देखाएको छ। स्रोतका अनुसार साढुदाइहरू घटनाको दिन रक्सी र बंगुरको मासु खाएर राति अबेर सुतेका थिए। लगातार टाउको दुखेको भन्दै साढुदाइ धनराज सेर्माले झारफुक गर्न भन्दै झाँक्री बोलाएका थिए। राति अबेर झाँक्री घर हिँडेपछि मात्रै सेर्मा सुतेका थिए। मदिराको सुरमा रहेका कारण पनि धनराजले प्रतिकार गर्न नसकेको अनुमान गरिएको एक अनुसन्धान अधिकारीको भनाइ छ। ‘मर्नेमध्ये धेरै बालबालिका र महिला रहेका कारण पनि मानबहादुरलाई एक्लैले हत्या गर्न सजिलो भएको देखिन्छ,’ ती अधिकारीले भने।
ब्युरोले मृतक नौ जनाकै रगतको नमुना संकलन गरेर प्रहरीको विधि विज्ञान प्रयोगशालामा ल्याइसकेको छ। ब्युरो टोलीले प्रारम्भिक रिपोर्ट जिल्ला प्रहरी कार्यालय पाँचथरमा बुझाइसकेको र प्राविधिक रिपोर्ट आइनसकेको ब्युरोका एसपी दीपक रेग्मीले बताएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै