१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपतपूर्वको व्यवस्थापन



अ+ अ-

मानव जीवनले आदिकालदेखि प्राकृतिक विपत्ति, सामाजिक शोषण र आर्थिक अभाव सहँदै आयो । चेतनाको कमीले यसलाई पूर्वजन्मको फल, लेखेको भाग्य अनि आफ्नै कमजोरी वा दोष ठह¥यायो । अहिले शिक्षाको विस्तारसँगै नेपालीमा जागरणको टुसा उम्रिएको छ । तैपनि विपतमा परेका द्ुःखद् समाचारहरू हरेक दिन सुन्नुपर्छ । नेपालीलाई मृत्युको भयबाट मुक्त राख्दै यस्ता विपतको व्यवस्थापन र क्षतिको न्यूनीकरणमा अबको अभियान कस्तो हुनुपर्ला त ?

प्राकृतिक विपत्तिहरू अकाट्य छन् । यिनको पूर्वानुमान गर्न सक्नुपर्छ । आजको प्रविधि र सचेत नागरिक समाजले यसतर्फ जिम्मेवारीपूर्वक काम गर्न सक्छन् । भर्खरै हुरीले बारा, पर्सा, कैलालीमा क्षति पु¥याएको छ । कोसी, गण्डकी, कर्णलीका कटान र डुवानहरू आजका होइनन् । पहाडी जिल्लाहरूमा वर्षेनि बाढीपहिरोले गरेको नोक्सानी वर्खा यामका स्थायी समाचार बनिरहन्छन् । चट्याङ र भूकम्पबाट नेपालीले मुक्ति पाउने छैनन् । हप्तौँ डँडेलो सल्किएको देख्छौँ । जाजरकोटको झाडापखाला, सुनसरीको डेँगु, नेपालगंजको लु अनि सहरी प्रदूषण महामारी बनेर नरसंहारमा लागेका छन् । दाइजो, बोक्सी, छाउ, सुत्केरी अनि बलत्कारमा नारीहरूको ज्यान गएको छ । दुर्घटनाको समाचार नसुनेको दिनै हुन्न । द्वन्द्वको घाउको अझसम्म खाटा बस्न सकेको छैन । यस्ता क्षति कम गर्न न प्रविधिले सघायो न जागरुक समाजले नै । यहाँ प्रविधि निस्क्रिय छ अनि सहयोगी हातहरू नाम चलाउ । भोट कमाउन र अनुदान पचाउन गोहीको आँसु बगाउँदै लास सुम्सुम्याउन पुग्छन् । यति काम घटनापूर्व गर्न सके मानवीय क्षति त रोकिने थियो । यो लगानी ती सोझ, असहाय, निमुखा र गरिबलाई बितेपछि होइन अघि नै जागरणमा खर्च गरौँ न ।

पहिले पनि प्राकृतिक प्रकोप थिए । सूचना प्रविधिको अभावमा ती सार्वजनिक हुँदैनथे । तिनलाई भाग्य, कर्म वा भवितव्य मानी सहँदै चित्त बुझाइन्थ्यो । जागरुक वर्ग र राज्य संयन्त्रले फुल्याइरहनुपर्ने आवश्यकता ठान्दैनथ्यो । तर अहिले नागरिकको जिउधनको सुरक्षाको जिम्मा लिएको सरकार मूकदर्शक बनेर हुन्न अनि मानवीय संवेदनाहीन प्रबुद्ध समाज नालायक मानिन्छ । अब त सबैमा प्रकोपपीडित असहायको दैलोमा पुग्नुपर्छ भन्ने सोचको विकास भइसकेको छ । यही बदलिएको सकारात्मक सोचलाई उत्पादनमूलक बनाउनु छ । तसर्थ सरकारले पुँजीगत खर्च बढाउन असारमा निर्माणकार्यलाई तीब्रता दिएजस्तो कामचलाउ काममा नलागी विपतपूर्वको स्थायी कार्ययोजना बनाउन लागौँ ।

सरकार जनमुखी बन्न र नागरिक अगुवामा विवेक पलाउन सके विपत्तिमा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गरिदिने, पीडितहरूको छाना, खाना र नानाको पनि व्यवस्था मिलाइदिने अनि तिनको स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि तथा अन्य व्यवसाय उकास्न दीर्घकालीन योजनाहरू ल्याउन सक्छ । विभिन्न नामका पीडितहरूका लागि सङ्कलित कोषको उच्चतम् सदुपयोग स्थायी समाधानतर्फ लक्षित हुनुपर्छ । नागरिकलाई समृद्ध बनाउनु भनेको उनीहरूलाई आत्मनिर्भर, निरोगी र श्रमशील तुल्याउनु हो । एकपटक प्राकृतिक विपत झेलेको नागरिक दोस्रोपटक त्योसँग जुध्नका लागि सक्षम बन्नुपर्छ । यसैले अबको कदम विपत प्रतिरोधी क्षमताको विकासतर्फ गतिशील हुनुपर्दछ ।

२०७२ सालका भूकम्प पीडितहरूको लगत सङ्कलन, अनुदान र ऋण वितरण तथा प्राविधिक ज्ञान प्रदान गर्न सरकार पूर्णतः असफल भएको थियो । २–३ वर्षसम्म पालमा बसेका, लगतमा छुटेका अनि पूर्वाग्रहले मिल्किएका ती नेपालीले सरकारलाई असहायको दैव मान्न सकेका छैनन् । चारा छरिएको राहत र सहयोगको उधारो आश्वासनले आइरहने विपत्तिसँग ती पीडितहरू कसरी लड्न सक्लान् । भूकम्प प्रतिरोधी संरचना निर्माणलाई बाध्यकारी बनाउन न राज्य लागेको छ न जागरण अभियन्ताको अभियान त्यसमा केन्द्रित छ । प्राकृतिक प्रकोप विकसित देशहरूमा पनि आइरहन्छ तर मानवीय क्षति न्यून हुन्छ किनभने आजको प्रविधि अपनाउन सरकारले नागरिकलाई सचेत गराइसकेको छ । हामीले निर्माण गर्ने संरचनामा न प्राविधिक ज्ञानको प्रयोग छ न सरकारी अनुगमनको आँखा नै पुगेको छ ।

निर्माण सम्पन्नको प्रमाणपत्र सरकारले बिना निरीक्षण धमाधम बाँडिदिन्छ । सर्वसाधरणले मात्र होइन सक्नेले पनि प्राविधिक सेवा लिनुलाई फजुल खर्च ठान्छन् । प्राविधिक जनशक्तिको अभावका कारण सरकारले निशुल्क वा कम शुल्कमा यस्तो सेवा प्रदान गर्न सकेको छैन । अब प्राविधिकको सल्लाहबिना असुरक्षित भवन, पुल, सडक आदि संरचनाको निर्माणमा प्रतिबन्ध लगाउन सरकारलाई र कमजोर संरचनालाई ७२ को महाभूकम्प झेलेको बलियो ओत ठानी निदाउने जनतालाई अहिले नै व्युँझाउने अभियानमा लागौँ न ।

प्रायः भूमिहीन, दलित, सीमान्तकृत एवम् निर्धन परिवारले नै विपत्तिको सामना गर्नुपरिरहेको छ । यस्ता परिवार ग्रामीण बस्तीहरूमा बढी हुन्छन् । खोलाको किनार, भिरालो जमिन, बगुवा धरातल, जङ्गल किनार तथा जोखिमयुक्त स्थलहरूमा बस्न बाध्य यस्ता परिवारलाई स्थानान्तरण एवम् पुनस्र्थापनाको योजना निर्माण गर्न ढिला भइसहेको छ । यातायात विस्तारका नाममा जथाभावी डोजर चलाइँदा धेरै बस्तीहरू जोखिममा परेका छन् । त्यस्तै खानी सञ्चालन गर्नाले जमिनको सुन्तुलन बिग्रन गई बाढीपहिरो बढेको छ ।

कृषिको आधुनिकीकरणले कम पौष्टिक र अस्वस्थ उत्पादन बढेको छ भने जस्तो जमिनमा पनि फल्ने परम्परागत बाली नासिएका छन् । यस्ता उन्नत कार्यहरूका खराब पक्षले निम्नवर्गीय जीवन प्रभावित भएको छ । तसर्थ सम्भावित दुस्परिणामको समीक्षा गर्दै मानवीय क्षति रोक्ने पूर्वतयारी गरौँ ।

भूगर्भविद्का अनुसार नेपाल अनेकौँ प्राकृतिक विपत्तिहरू दोहोरिइरहने देशहरूमध्येको एक हो । केही वर्षयता विपत व्यवस्थापनप्रति सचेत रहन पूर्वतयारीहरू अपनाउन थालिएको पनि छ । सरकारले पनि स्थानीय तहदेखि केन्द्रसम्म यसबारे चिन्ता र चासो देखाएको पाइन्छ । प्रधानमन्त्री राहत कोष खडा भएको छ ।

यसमा वार्षिक बजेट नै छुट्टाइएको हुन्छ । विभिन्न अर्धसरकारी, गैरसरकारी एवम् निजी क्षेत्रबाट मानवीय सहयोग कोष निर्माण भएको छ । यस्तो अवस्थामा विभिन्न पेशाकर्मीहरूले भौतिक उपस्थिति र यथोचित सहयोगमार्फत् मानवीय संवेदना प्रकट गर्न थालेका छन् । तर विपतको बेला मात्र सेना, प्रहरी, डाक्टर, शिक्षक, कर्मचारी, जनप्रतिनिधि तथा नागरिक प्रबुद्धहरू झुल्कने परम्परालाई सुधार्नुपर्छ, विपतपूर्वको जागरण अभियानमा लाग्नुपर्छ ।