१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् प्रहरीलाई विवादित बनाउने ८ इन्काउन्टर



अ+ अ-

काठमाडौं । विगतमा भएका विवादास्पद ‘इन्काउन्टर’ घटनाको छानबिन नहुँदा अत्यधिक बल प्रयोगतर्फ प्रहरीको मनोबल बढ्दै गएको छ । पछिल्लो चार वर्षयता प्रहरीसँग मुठभेडमा मृत्यु भएका कुनै पनि घटनामा प्रहरीमाथि विस्तृत छानबिन र कारबाही हुन सकेको छैन । बिहीबार मात्र प्रहरीसँगको ‘मुठभेड’ मा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल मारिए । जुन घटनामा पनि प्रहरी विवादमा परेको छ ।

मुठभेडमा उनको मृत्यु भएको मानिए पनि दोहोरो भिडन्त भएको कुनै संकेत फेला परेको छैन । नियन्त्रणमा लिएर पौडेललाई गोली हानिएको आशंका गरिएको छ ।

मृतकका आफन्तले पक्राउ गरेर उनलाई गोली हानिएको आरोप लगाएका छन् । कुमारलाई नियन्त्रणमा लिएर प्रहरीले गोली हानेकाले निष्पक्ष छानबिन गर्नुपर्ने मृतकका बुबा खिलराज पौडेलले माग गरेका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

छानबिन अलपत्र
विगतमा पनि प्रहरीबाट धेरैवटा विवादास्पद इन्काउन्टरका घटना भएका छन् । तर, त्यसको छानबिन मानवअधिकार आयोगभित्रै अलपत्र परेको छ । प्रहरीको दबाब र प्रभावका कारण आयोगले गम्भीरताका साथ अनुसन्धान नगरेको स्रोत बताउँछ।
घटना १
गत ७ जेठमा मात्र सो विप्लव समूहका कार्यकर्ता तीर्थराज घिमिरे भोजपुरमा प्रहरीको गोलीबाट मारिएका थिए । त्यसपछि सो समूहले प्रतिशोधस्वरूप थप हिंसा चर्काएको थियो । सो घटनाको पनि आयोगले गम्भीरताका साथ छानबिन गरेको छैन ।
घटना २
बालक निशान खड्काको अपहरणपछि हत्या घटनामा संलग्न अजय तामाङ र गोपाल तामाङको गत वर्ष २१ साउनमा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । ठिमीस्थित डेराबाट पक्राउ गरी जंगलमा लगेर उनलाई गोली हानिएको भन्दै आयोगमा उजुरी परेको थियो । आयोगले विशेष टिम बनाएर छानबिन गरे पनि हालसम्म यस सम्बन्धमा कुनै निर्णय गरेको छैन ।
घटना ३
गुन्डागर्दी गरेको आरोपमा दिनेश अधिकारी ‘चरी’ र कुमार घैँटे भनिने कुमार श्रेष्ठसमेत प्रहरी गोलीबाट मारिएका थिए । दुवै घटनाको आयोगमा उजुरी परेको थियो । तर, ब्यालेस्टिक विज्ञ नभेटिएको बहानामा सो घटनाको छानबिन पनि आयोगले निष्कर्षमा पु¥याएन ।
घटना ४
गत माघमा सप्तरीको रूपनीमा प्रहरी गोलीबाट दीपेन्द्र चौधरी मारिएका थिए । उनी पेसेवर अपराधी भएकाले घटनाको खासै विरोध भएन, प्रहरीले आन्तरिक छानबिन पनि गरेन ।
घटना ५
गत २९ पुसमा रूपन्देहीमा प्रहरी गोलीबाट केदार सहनी मारिएका थिए । सिद्धार्थनगर नगरपालिका–४ मा प्रहरीसँग उनको दोहोरो भिडन्त भएको थियो । सो घटना पनि शंकास्पद थियो । तर, प्रहरीले यसबारेमा चासो देखाएको छैन ।
घटना ६
गत वर्ष मनोज पुन र सोमबहादुर आले पनि रूपन्देहीमा प्रहरीको गोलीबाट मारिएका थिए । उनीहरूलाई भारतबाट पक्राउ गरेर ल्याई गोली हानिएको परिवारले दाबी गरी मानवअधिकार आयोगमा उजुरी गरेका थिए । त्यो उजुरी पनि आयोगमा अलपत्रकै अवस्थामा छ ।
घटना ७
गत माघमै गोंगबुको एक गेस्ट हाउसमा काभ्रेका अविनाश लामालाई गोली हानियो । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई गोली हानेको हो । यस विषयमा आयोगमा उजुरी परे पनि केही कारबाही भएन ।
घटना ८
दुई साताअघि मात्र कास्की प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गर्न गोविन्द थापामाथि गोली चलाएको थियो । सो घटनामा पनि प्रहरीले पक्राउ गरेर गोली हानिएको दाबी थापा परिवारले गरे, तर प्रहरीले कुनै चासो देखाएन।