१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन गराउन मतदाता नामावली दर्ता सुरु



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले तीन तहमा गरी ४७ पदमा उपनिर्वाचन गराउने उद्देश्यले मतदाता नामावली दर्ता सुरु गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रचलित कानुनबमोजिम उपनिर्वाचन गर्न आयोगले आवश्यक आन्तरिक तयारी गरिरहेको र त्यसैक्रममा मतदाता नामावली दर्ता अभियान सुरु गरिएको बताउनुभयो ।

विभिन्न कारणले प्रतिनिधि सभा सदस्य एक, प्रदेश सभा सदस्य तीन, स्थानीय तहअन्तर्गत नगरपालिकाका प्रमुख एक, गाउँपालिकाका अध्यक्ष तीन, उपाध्यक्ष एक गरी चार र नगरपालिका तथा गाउँपालिकाका वडाध्यक्ष ३८ गरी कुल ४७ पदका लागि उपनिर्वाचन हुने जानकारी आयोगका सहसचिव एवं प्रवक्ता शङ्करप्रसाद खरेलले दिनुभयो ।

आयोगले २०७४ सालमा स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्य, राष्ट्रिय सभा सदस्य, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गरेको थियो । उपनिर्वाचनको मिति नेपाल सरकारबाट घोषणा हुन बाँकी छ । निर्वाचनका लागि विद्यमान निर्वाचन कानुनमा आयोगलाई १२० दिनको समय प्रदान गरिएको छ । निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाउने कानुनी व्यवस्था छ । निर्वाचनमा भाग लिन मतदाता नामावलीमा नाम रहनु अनिवार्य छ ।

आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएका योग्य नागरिकले नागरिकताको प्रमाणपत्रसहित आफ्नो स्थायी ठेगाना रहेको जिल्लास्थित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न आग्रह गर्नुभएको छ ।

यसैगरी आयोगले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र मतदाता दर्ता कार्य सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयमध्ये आफुलाई पायक पर्ने कार्यालयमा गई मतदाता नामावलीमा नाम दर्ता गराउन र यस कार्यमा आवश्यक सहयोगका लागि आमनागरिक, राजनीतिक दललगायत सम्बद्ध सबै सरोकारवालालाई अनुरोध पनि गरेको छ ।

मतदाता नामावली दर्ताका लागि नागरिकता बनेको र १६ वर्ष उमेर पुगेको हुनुपर्ने छ तर मतदानमा सहभागी हुन भने १८ वर्ष उमेर पुग्नुपर्छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रममा उपनिर्वाचनका काम यसै वर्ष सम्पन्न गर्ने उल्लेख छ । आयोगले हाल पनि ७७ वटै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा तोकिएका इलाका प्रशासन कार्यालयबाट मतदाता दर्ता कार्यलाई निरन्तरता दिइरहेको छ । निर्वाचनमा मतदान गर्न पाउनु एवं मतदाता नामावलीमा नाम दर्ता गराउनु सबै नागरिकको अधिकार र कर्तव्य पनि हो । मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भन्ने व्यवस्था रहेको छ । आगामी कात्तिक महिनाको अन्त्यसम्ममा उपनिर्वाचन गराउने गरी तयारी गरिएको छ ।

वडाध्यक्षसम्म मात्रै उपनिर्वाचन
प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्य, नगरपालिका प्रमुख÷उपप्रमुख र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्षको मात्रै उपनिर्वाचन हुने कानुनी व्यवस्था छ । स्थानीय तहमा वडा सदस्य, महिला सदस्य, दलित सदस्य, कार्यपालिका सदस्य र जिल्ला समिति सदस्य गरी नौ सयभन्दा बढी पद रिक्त भए पनि ती पदमा उपनिर्वाचन नहुने भएको छ ।
आयोगका अनुसार गण्डकी प्रदेशको कास्कीको क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि सो पद रिक्त छ । अधिकारी संस्कृति, पर्यटन तथा नागरिक
उड्डयनमन्त्री हुनुहुन्थ्यो ।


यसैगरी प्रदेश सभा सदस्यत्रय हरिशरण लामिछाने, टेकबहादुर घर्ती, उत्तरकुमार वलीको निधनपछि प्रदेश सभामा तीन पद रिक्त छन् । प्रदेश ३ भक्तपुरका लामिछाने, गण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्लाका टेकबहादुर घर्ती र दाङका उत्तरकुमार वलीको मृत्यु भएपछि रिक्त स्थानमा उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उहाँहरू प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुुनुुहुन्थ्यो ।


स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरका प्रमुख तारा सुब्बा, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङ, सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल, महोत्तरी जिल्लाको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरी र हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीको पनि निधन भएका कारण उपनिर्वाचन हुन लागेको हो । त्यस्तै ३८ वडाध्यक्ष पदमा उपनिर्वाचन हुने समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।