४ असार २०८३, बिहीबार
,
Latest
प्रहरी पोसाक खरिदमा परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध…
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रदेश नं २ स्वास्थ्य र शिक्षाको अवस्था कहालिलाग्दो’



अ+ अ-

जनकपुरधाम । उपप्रधान एवम् जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश नं २ स्वास्थ्य र शिक्षा क्षेत्रको अवस्था कहालिलाग्दो भएको बताउनुभएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखाको बहिरङ्ग भवनको आज यहाँ उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले काठमाडाँै उपत्यकाका अस्पतालहरूमा पनि प्रदेश नं २ कै बिरामीको चाप अधिक देखिएको चर्चा गर्नुभयो ।

उहाँले प्रदेश नं २ मा हृदय, मिर्गौला, मधुमेहलगायतका नसर्ने बिरामी अन्य प्रदेशको दाँजोमा धेरै देखिएकाले खानपान र आचरण सुधारका लागि जनचेतना अभिवृद्धिको अभियान सञ्चालनको आवश्यकतामा जोड दिनुभयो । उपप्रधानमन्त्री यादवले प्रदेश नं २ का मुटुरोगीहरूको सङ्ख्यालाई दृष्टिगत गर्दै शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको पहिलो शाखा जनकपुरधाममा स्थापना गरिएको उल्लेख गर्नुभयो ।

‘‘हृदय केन्द्रलाई विस्तार गर्न जनकपुर अस्पतालले जग्गा उपलब्ध र प्रदेशले भवन निर्माणका बजेट विनियोजन गरिसकेकाले आगामी दिनमा यसबाट अत्याधुनिक उपचार सेवा उपलब्ध हुनेछ,’’, उपप्रधानमन्त्री यादवले भन्नुभयो ।

प्रदेश नं २ मा क्यान्सर रोगको उपचारका लागि अस्पताल निर्माण गर्न सङ्घीय सरकारले बजेट विनियोजन गरिसकेको र अस्पतालका लागि जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा रहेको बताउँदै उहाँले प्रारम्भमा भरतपुर क्यान्सरको सहयोगमा यस प्रदेशमा क्यान्सर अस्पताल सञ्चालन हुने जानकारी दिनुभयो ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर अस्पताललाई प्रदेशको नमूना अस्पताल बनाउनु पर्ने खाँचो आँैल्याउनुभयो । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको जनकपुरधाममा शाखा स्थापनाले प्रदेशवासीले उपचारमा सहजता पाएको चर्चा गर्दै उहाँले शाखाबाट अन्तरङ्ग सेवा पनि सञ्चालन हुनु आवश्यक छ भन्नुभयो ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेश सरकारद्वारा आगामी ७० दिनभित्र शाखामा क्याथ ल्याब स्थापना गरिने जानकारी दिनुभयो । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुर अस्पतालको स्तरोन्नति हुनुपर्ने धारणा राख्नुभयो ।

जनकपुर अस्पतालका प्रमुख डा नागेन्द्रप्रसाद यादवले अस्पतालमा पूर्वाधार पर्याप्त भएकाले यसको सेवा विस्तारका लागि सरकारसँग रु १० करोडको व्यवस्थाका लागि माग गर्नुभयो । प्रदेश नं २ का स्वास्थ्य निर्देशक डा प्रमोद यादवले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको शाखाबाट प्रदेशका ६० लाख जनसङ्ख्याले सहज रूपमा उपचार सेवा पाउने बताउनुभयो ।

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले जनकपुर शाखाबाट आगामी तीन वर्षभित्र आकस्मिक र अन्तरङ्ग सेवा पनि उपलब्ध हुने जानकारी दिनुभयो । शाखाका प्रमुख डा राकेश साहले शाखाले गत माघ महिनादेखि हालसम्ममा तीन हजारभन्दा बढी बिरामीलाई बहिरङ्ग सेवा प्रदान गरेको छ भन्नुभयो ।