४ असार २०८३, बिहीबार
,
Latest
नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न—औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री निवासप्रति स्थानीयबासीको चासो, अन्तर्राष्ट्रिय स्तरको पार्क बनाउन सुझाव



अ+ अ-

भैंसेपाटी, ललितपुरः नेपाल सरकारले ललितपुरको भैंसेपाटी आवास क्षेत्रमा मन्त्री निवास बनाउने निर्णय गरी डिजाइनको काम भइरहेको अवस्थामा स्थानीयबासीले त्यस ठाउँलाई खुला राख्न अनुरोध गरेका छन् ।
स्थानीयबासीको शनिबार भैंसेपाटीको मगरगाउँमा आयोजित भेलामा अधिकांश व्यक्तिले आवास क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको पार्क बनाउन सुझाव दिएका छन् । उनीहरुले राजधानीमा खुला स्थानहरु क्रमशः मासिदै गएकामा चिन्ता व्यक्त गर्दै सरकारको मन्त्री निवास बनाउने निर्णय अदूरदर्शी, अपरिपक्व र स्थानीय जनताको भावना विपरीत रहेको जनाए ।
नेपाल सरकारले भैंसेपाटी आवास क्षेत्रमा संघीय मन्त्री निवास, प्रदेश मुख्यमन्त्रीको सम्पर्क कार्यालय एवं निवास तथा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको आवास निर्माण गर्ने निर्णय गरिसकेको छ । सरकारको निर्णयसँगै अहिले प्रस्तावित भवनहरुको नक्सा डिजाइनको कार्य भइरहेको छ ।


विगतमा सांसद आवासका लागि छुट्याइएको यो जग्गा करिब १२३ रोपनी छ । विगतमा यही ठाउँमा केन्द्रीय कारागार र सशस्त्र दंगा प्रहरी राख्ने योजना समेत सार्वजनिक गरिएका थिए, तर ती योजना कार्यान्वयनमा आउन पाएका थिएनन् ।
स्थानीय समाजसेवी मदन महतले २०७२ सालको भूकम्पमा काठमाडौंदेखिका मानिस सुरक्षित स्थानको खोजीमा यही आवास क्षेत्रमा आएर महिनौं पाल हालेर बसेको स्मरण गर्दै आवास क्षेत्रलाई खुला राख्न वा पार्क निर्माण गर्न आग्रह गर्नुभयो । उहाँले सिंहदरबारबाट झण्डै ५ किलोमिटर टाढाको यो ठाउँ मन्त्री निवासका लागि उपयुक्त नरहेको बरु १ किलोमिटरको दूरीमा रहेको पुल्चोकस्थित हालकै मन्त्री निवासलाई अझ व्यवस्थित बनाए हुन्छ भन्नुभयो ।
राजनीतिकर्मी रविन्द्र मिश्रले काठमाडौं उपत्यकालाई हाम्रै पुस्ताले कंक्रिटको जंगल बनाइसकेका छौं भन्दै हामीले हाम्रै बारेमा मात्र सोच्यौं, हाम्रा छोराछोरीका बारेमा सोचेनौं भन्नुभयो । उहाँले काठमाडौंमा यति उचो भागमा यतिठूलो खुला ठाउँ कतै छैन भन्दै त्यसै कारण सबैले आँखा लगाएको बताउनुभयो ।
मिश्रले भन्नुभयो – मेरो विचारमा यहाँ मन्त्री निवास बनाउनु हुँदैन भन्ने होइन, तर अरु ठाउँलाई रोज्न सकिन्छ । यहाँ अन्तर्राष्ट्रिय स्तरको पार्क बनाउनु पर्दछ, यस्तो पार्क अहिलेसम्म नेपालमा बनेकै छैन । मन्त्री निवास बनाउँदा यो ठाउँको मूल्य बढ्दैन बरु सम्पूर्ण रुपमा वातावरणीय हिसाबले यो ठाउँ प्रदूषित हुन्छ ।
ललितपुर महानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष पुरुषोत्तम खड्काले सरकारले गरेको निर्णय आफूहरुलाई थाहासम्म नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो – वडाभित्र निर्माण हुन लागेको संरचनाका बारेमा वडालाई नै जानकारी नदिई एकपक्षीय रुपमा काम भइरहेको सुनिएको छ । यो ठाउँ मन्त्री निवासका लागि कुनै पनि हिसाबले उपयुक्त छैन, र बन्नु हुँदैन ।
समाजसेवी शंकर थापा मगरले आवास क्षेत्रमा निर्माण गर्ने भनिएको मन्त्री निवासको सम्पूर्ण प्रक्रियालाई स्थानीय जनतालाई थाहै नदिई गुपचुप राख्न खोजिएको बताउँदै स्थानीय लालीगुराँश क्लबका तर्फबाट लिखित रुपमै यो ठाउँलाई खुला राख्न आग्रह गरिएको जानकारी दिनुभयो ।
उहाँले स्थानीयबासीले मन्त्री निवास नबनोस् भनेको छैन भन्दै तर त्यसलाई पनि के कसरी व्यवस्थित, स्थानीय जनताको भावना अनुकूल बनाउन सकिन्छ भन्ने बारेमा विशेष ध्यान दिइनु पर्दछ भन्नुभयो । उहाँले मन्त्री निवाससँगै स्थानीय विकास र खुला ठाउँका बारेमा स्थानीयबासीको विशेष चासो रहेको स्पष्ट गर्नुभयो ।
पूर्वसांसद दीपकुमार उपाध्यायले मन्त्री निवासका बारेमा पुनर्विचार गर्न सरकारको तत्काल ध्यानाकर्षण जरुरी रहेको बताउँदै स्थानीयबासीको छलफलबाट मात्र अघि बढ्नेगरी हाललाई मन्त्री निवासको निर्माणसँग सम्बन्धित कामहरु थाँती राख्न र रोक्न सरोकारवाला निकायलाई तत्काल ध्यानाकर्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भवन निर्माणका लागि टेन्डर प्रक्रिया शुरु हुन लागेको सुनिएकाले तत्कालै स्थानीयबासीले आफ्ना धारणाहरु सरकार समक्ष लैजानु पर्दछ भन्नुभयो ।
समाजसेवी दामोदर खड्का, विनोद कुँवर, हरि थापा क्षेत्री, ईमन थापा मगर, निरु खड्का, तुलसीराम थापा, ऋषि शर्मा लगायतले राजधानीमा खुला स्थानहरुको अभाव हुन थालिसकेकाले भएका खुला ठाउँलाई खुलै राख्न र महत्वपूर्ण संरचनाहरु निर्माण गर्दा विकल्पहरुमाथि विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
आवास क्षेत्रका बारेमा उठेका विषयलाई के कसरी सम्बोधन गर्न सकिन्छ भन्ने बारेमा स्थानीयबासी र जिम्मेबार सरकारी निकाय, सांसद र मन्त्री समक्ष छलफलका लागि एक प्रारम्भिक समिति समेत गठन गरेको छ । उक्त समितिमा स्थानीयबासीहरु रविन्द्र थापा मगर, हरि कुमार थापा, शंकर थापा मगर, सुमन कुमार महत, विनोद कुँवर, ईमन थापा मगर, गुणराज बज्राचार्य, दामोदर खड्का र सोमनाथ लामिछाने रहनुभएको छ ।