१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द समूहका पोलिटब्युरो र स्थायी कमिटी भंग



अ+ अ-

काठमाडौँ । चन्द समूहले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ । केही दिनअघि बसेको स्थायी कमिटी बैठकले ५ सदस्यीय स्थायी कमिटी र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो । अब समूहमा सबै कमान्ड महासचिव नेत्रविक्रम चन्द आफैंले सम्हाल्ने भएका छन् ।

चन्द समूहले पार्टीभित्र विकृति मौलाएको उल्लेख गर्दै १७ केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएर ‘खुला मोर्चा’ मा पठाएको छ ।

‘५० केन्द्रीय सदस्यमध्ये १७ जनालाई पद घटुवा गरेर कारबाही गरिएको हो,’ एक केन्द्रीय सदस्यले कान्तिपुरसँग भने, ‘घटुवा गरे पनि खुला मोर्चामा जिम्मेवारी दिइएको छ ।’ तीमध्ये केहीलाई पार्टीले दिएको जिम्मेवारी पूरा नगरेपछि हटाइएको उनको भनाइ थियो । ‘अब नयाँ ढंगले चल्नुपर्छ भन्ने पार्टीको निष्कर्ष छ, केहीलाई कारबाही पनि हुन सक्छ,’ उनले भने ।

चन्द समूहका एक नेताका अनुसार पार्टी कार्यकर्ताको सुराकी गरेको, जिम्मेवारी दिएको क्षेत्रमा नगएको भन्दै केहीलाई जिम्मेवारीबाट हटाइएको र केहीलाई बर्खास्त गरिएको छ । स्थायी कमिटीमा चन्द, हेमन्तप्रकाश ओली, खडगबहादुर विश्वकर्मा, धर्मेन्द्र बाँस्तोला र सन्तोष बुढामगर थिए । चन्दबाहेकका चार जनालाई सचिवालय सदस्यको जिम्मेवारीमात्र दिइएको छ ।

पोलिटब्युरो सदस्यहरू भरत बम, अनिल शर्मा, ओम पुन, उमा भुजेल, वीरजंग चन्द र मोहन कार्कीलाई केन्द्रीय सदस्यमा घटुवा गरिएको छ । पोलिटब्युरो सदस्य कृष्ण धमलालाई भने केन्द्रीय सदस्यको जिम्मेवारीबाट समेत हटाइएको छ ।

त्यसैगरी केन्द्रीय सदस्य रामप्रसाद तिमल्सिना, शंकर खडका, डीडी पाण्डे, भेषराज भुसाल, पुरुषोतम विष्ट, धनबहादुर महर्जन, डम्बर विश्वकर्मा, आजाद केसीलगायत १७ जनालाई केन्द्रीय सदस्यबाट हटाएको चन्द समूहका ती नेताले जानकारी दिए । ‘केही सदस्यले पार्टीभित्रको गोपनीयता भंग गरेको, सुराकी गरेको भन्ने उजुरी परेका छन्,’ उनले भने, ‘त्यही कारण पार्टीको शुद्धीकरण अभियान चलाइएको हो, पार्टीले तीनवटै कमिटीका सदस्यहरूलाई नयाँ ढंगले जिम्मेवारी दिएर कार्यक्षेत्रमा पठाएको छ ।’

सरकारले प्रतिबन्ध लगाएको अवस्थामा इमानदार कार्यकर्ता आवश्यक रहेको उल्लेख गर्दै उनले शुद्धीकरण अभियानबाट पार्टी झन् बलियो हुने दाबी गरे । उनले दर्जनभन्दा बढी कार्यकर्तामाथि निगरानी गरिरहेको जानकारी दिँदै केही दिनभित्रै पार्टी निष्कर्ष पुग्ने बताएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।