१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वदलीय बैठकको टुंगो लागेन



अ+ अ-

काठमाडौँ । प्रतिपक्षीले उठाएका मुद्दामा सर्वदलीय छलफल गर्न प्रतिनिधिसभाको बैठक स्थगित गरेको तीन दिन बित्यो । संसद् बैठक सोमबार सञ्चालन गर्ने सूचना टाँस गरे पनि सर्वदलीय बैठक कहिले बस्ने भन्ने शनिबार साँझसम्म दलहरूले टुंगो लगाएका छैनन् । सभामुख कृष्णबहादुर महराले सत्ता र प्रतिपक्षी दलबीच पनि अनौपचारिक छलफल गरेर बैठकमा बस्दा निकास निस्कने भन्दै बिहीबार बैठक स्थगित गरेका थिए ।

स्रोतका अनुसार सभामुख महराले टेलिफोन गरेर आन्तरिक तयारी गर्न सुझाए पनि दलका नेताले बैठक बस्ने तयारी गरेका छैनन् । बैठकका लागि सभामुख र सत्तापक्षबाट जानकारी नआएको प्रमुख प्रतिपक्ष कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने आन्तरिक छलफल भइरहेको प्रतिक्रिया दिए । ‘अनौपचारिक छलफल भइरहेको छ,’ उनले भने ।

प्रतिपक्षी सांसदले सर्लाही घटनाको संसदीय छानबिन समिति गठन गर्नुपर्नेलगायत मुद्दा अघि सारेर असार २४ गतेदेखि संसद् अवरुद्ध गर्दै आएका छन् । पटकपटक संसद् अवरुद्ध भएपछि सभामुख महराको पहलमा बिहीबार संघीय संसद् भवन बानेश्वरमा सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकमा दलहरूबीच सहमति हुन नसकेपछि ३ दिनको समय राखेर संसद् स्थगित गरिएको थियो । सभामुखले सर्वदलीय छलफलका लागि समय दिए पनि दलहरूबीच वार्ता सुरु भएको छैन । सत्ता पक्षले बिहीबार दलहरूबीच वार्ता गर्न सर्वदलीय समिति बनाएर संसद् सञ्चालनलाई निरन्तरता दिनुपर्ने प्रस्ताव राखेको थियो । उसले सर्लाही घटनालाई राज्यव्यवस्था समितिले हेरेको र स्थानीय तहमा पनि दलहरूबीच एक प्रकारको सहमति भएकाले संसदीय समिति बनाउन आवश्यक नभएको उसको भनाइ छ ।

प्रतिपक्ष कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले भने सरकारले मानवअधिकार हनन गरेको भन्दै संसदीय समिति बनाउनुपर्ने अडान दोहोर्‍याउँदै आएका छन् । असार ५ गते प्रहरी कारबाहीमा नेत्रविक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो । प्रतिपक्षीले प्रहरीले पौडेललाई समातेर गोली हानेको भन्दै गैरन्यायिक हत्या भएको दाबी गर्दै आएको छ । त्यसैगरी असार १५ गते अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रहरीको गोली लागेर ईश्वर नगरपालिका १३ का सरोजनारायाण सिंहको मृत्यु भएको थियो ।

बालुवा झिकेको खाल्डोमा पुरिएर १२ वर्षीय बालक अमित रायको मृत्यु भएको विरोध जुलुसमा प्रहरीले गोली चलाउँदा सिंहको मृत्यु भएको थियो । दुवै घटनाको छानबिन गर्न माग गर्दै कांग्रेस र राजपाले संसदीय छानबिन समिति बनाउन माग गरेका हुन् । आफूहरू जुनसुकै बेला वार्तामा बस्न तयार रहेको कांग्रेस प्रमुख सचेतक खाँणले बताए । आफूहरू संसद अवरोध नहोस् भन्ने पक्षमा रहेको र यसका लागि सत्तापक्ष तयार हुनुपर्ने उनको भनाइ छ । आइतबार बैठक राख्न सभामुखले आन्तरिक पहल गरिरहेको संसद सचिवालय स्रोतले बताएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।