१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदभित्र दलहरूबीचको अविश्वास हटाउन विशेष समिति



अ+ अ-

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही इन्चार्ज कुमार पौडेल प्रहरीको गोली लागेर मारिएपछि प्रतिपक्षी कांग्रेस र राजपाले अवरुद्ध गरेको प्रतिनिधिसभा बैठक २६ दिनपछि सञ्चालन भएको छ । पौडेल मारिएको घटना छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएका प्रतिपक्षी पछि हटेपछि संसद् सोमबार खुलेको हो । प्रतिनिधिसभा २४ असारदेखि अवरुद्ध थियो ।

दलहरूले वार्ता र संवादमार्फत गतिरोधहरू अन्त्य गर्दै संसद्लाई प्रभावकारी बनाउन अध्ययन तथा सुझाब दिने संसदीय विशेष समिति भने गठन गरेका छन् । पूर्वसभामुख एवं सत्तारूढ नेकपाको संसदीय दलका उपनेता सुवास नेम्बाङको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो । समितिमा नेकपाका देव गुरुङ र विन्दा पाण्डे छन् । कांग्रेसबाट डा. मीनेन्द्र रिजाल, पुष्पा भुसाल गौतम, राजपा नेपालका लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीबाट उमाशंकर अरगरिया सदस्य छन् । समितिले एक महिनाभित्र अध्ययन प्रतिवेदन पेस गर्नेछ ।

‘सार्थक वार्ता तथा संवादमार्फत संसद्को वर्तमान गतिरोध अन्त्य गरी संसद्लाई प्रभावकारी बनाउने निष्कर्षमा हामी पुगेका छौँ,’ सभामुख कृष्णबहादुर महराले भने, ‘फेरि यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्न संविधान, नियम र स्थापित परम्पराअनुसार आवश्यक अध्ययन गरी सुझाब दिन समिति गठन गरिएको छ ।’

पौडेलको मृत्युसँगै १४ असारमा सर्लाहीकै ईश्वरपुरमा गिटी बालुवाखानीको खाल्डोमा डुबेर १२ वर्षीय बालकको मृत्यु भएको र विरोधमा उत्रिएका स्थानीयमाथि गोली चलाउँदा २५ वर्षीय युवा सरोजनारायण सिंहको मृत्युको घटनामा संसदीय छानबिन समिति गठन गर्नुपर्ने विपक्षीको माग थियो । त्यस्तै, मधेस तथा थरुहट आन्दोलनको छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग पनि गरेका थिए ।

सर्वदलीय बैठकले निकाल्यो सहमति
प्रतिनिधिसभाको सोमबारको बैठकअघि संसद् भवन बानेश्वरमा सर्वदलीय बैठक बस्यो । बैठकमा सभामुख महरासहित दलका नेता, प्रमुख सचेतक, सचेतकलगायतको सहभागिता थियो । सर्वदलीय बैठकले संसद्लाई प्रभावकारी बनाउन भन्दै संसदीय विशेष समिति गठन गर्ने सहमति गरेपछि प्रतिनिधिसभा बैठक सञ्चालन भयो ।

प्रतिनिधिसभा बैठकमा सत्तारूढ दल नेकपाका प्रमुख सचेतक देव गुरुङले मानवअधिकार आयोगले सर्लाही घटनाको विषयमा छानबिन समिति गठन गरेर अध्ययन गरिरहेको बताए । एउटा संवैधानिक अंगले गरिरहेको अध्ययनलाई अर्को अंगले छानबिन गर्न उपयुक्त नहुने भएकाले पर्खनुपर्ने स्थिति आएको उनको भनाइ छ । सर्लाहीकै अर्को घटनामा पनि राजनीतिक दलबीच स्थानीयस्तरमा सहमति गरिसकेकाले यी विषयमा तुरुन्तै छानबिन समिति बनाउने निष्कर्षमा पुग्न नसकिएको र विशेष समिति गठन गर्नेतर्फ सहमति जुटेको उनको भनाइ छ । लाल आयोगको प्रतिवेदनबारे पनि संवाद र सहमतिबाट टुंगोमा पुग्ने समझदारी भएको उनले बताए ।

विशेष समितिले अहिलेको समस्या समाधान गर्छ : विपक्षी
विपक्षी दलका नेताहरूले अध्ययन तथा सुझाब संसदीय विशेष समितिले सर्लाही घटना र संसद्को गतिरोध अन्त्यलगायतका विषयको समाधान गर्ने बताएका छन् । समिति सदस्य एवं कांग्रेस सचेतक पुष्पा भुसाल गौतमले संसदीय छानबिन समिति गठन गर्नुपर्ने वा नपर्ने भन्ने विषय यही समितिले टुंगो लगाउने बताइन् ।

‘यो समिति एक महिनाका लागि गठन भएको हो । संसद्मा अहिले देखिएको समस्या यो समितिले समाधान गर्नेछ । हामीले उठाउँदै आएको विषयमा अध्ययन गरेर प्रतिवेदन तयार हुनेछ,’ उनले भनिन् ।

राजपा नेपालका नेता राजकिशोर यादवले फेरि एकपटक नेपालको राष्ट्रिय राजनीतिमा सार्थक संवाद, सहकार्य र वार्ताका माध्यमबाट जस्तोसुकै समस्या समाधान गर्न सकिन्छ भन्ने मान्यता स्थापित भएको बताए । ‘सभामुखज्यूको नेतृत्वदायी भूमिका र बुद्धिमत्तापूर्ण ढंगले सबै दललाई विश्वासमा लिएर सदन चलाउने स्थितिसम्म पुर्‍याउनुभएको छ । हामीले खोजेको यस्तै लोकतन्त्र हो,’ उनले भने ।

यथाशीघ्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नू : सभामुख
सभामुख कृष्णबहादुर महराले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नेबारे यसअघि पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै निर्देशन दिँदै आएका थिए । सरकारले हालसम्म पनि प्रतिवेदन बाहिर नल्याएपछि विपक्षीले सदन अवरोध नै गरे । सभामुख महराले सोमबारको बैठकमा पनि लाल आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई विशेष निर्देशन दिएका छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।