• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   अर्बपति रुपर्ट मर्डोकले ९३ वर्षको उमेरमा २६ वर्ष कान्छीसँग विवाह गरे ★   गोदावरी नगरपालिकाका मेयर महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   शेनबाम मेक्सिकोको राष्ट्रपति निर्वाचित, सर्वोच्च राजनीतिक ओहोदामा पुग्ने पहिलो महिला ★   सुत्ने कोठामा वास्तुशास्त्रका यी कुरामा विशेष ध्यान दिनुहोस्, दाम्पत्य जीवनमा मधुरता आउनेछ ★   वामपन्थी शक्तिहरु मिल्नुको विकल्प छैन: माधव नेपाल (अन्तरवार्ता) ★   तीन सय दर्शक क्षमताको ‘कभर्डहल’ सञ्चालन ★   महिला साफ च्याम्पियनसिप नेपालमा हुने ★   एमाले पोखरा महानगरको अध्यक्षमा जीवन आचार्य निर्वाचित ★   डिशहोम फाईबरनेटले ल्यायो इन्टरनेट र डिटीएच ग्राहकहरुका लागि विशेष ‘स्मार्ट अफर’ ★   आगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो ल्याउँछौं: गभर्नर अधिकारी

मिडिया विधेयकः ओली र देउवाबीच सहमतिको प्रयास



काठमाडौं । निकै चर्चामा रहेको मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक अगाडि बढाउने बिषयमा सोमबार सहमति जुटेको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्ष (सिंहदरवार)मा भएको उक्त छलफलमा उक्त विधेयक छिट्टै सदनमा अगाडि बढाउन सहमति जुटेको हो । साथै त्यसका लागि सबै दलसँग सहमति जुटाउने विषयमा पनि छलफल भएको बताइएको छ ।

उक्त छलफलमा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल, सूचना तथा सञ्चार प्रबिधिमन्त्री गोकुल बाँस्कोटा, राष्ट्रिय सभामा सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराई, सांसद दीनानाथ शर्मा, विपक्षी दलका प्रमुख सचेतक सुरेन्द्रराज पाण्डे, विपक्षी दलका सचेतक सरिता प्रसाईँ, समाजवादी पार्टीका नेता प्रमिला कुमारी र पत्रकार महासंघका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

यसअघि प्रस्तावित मस्यौदामा वर्तमान प्रेस काउन्सिललाई सरकारनियन्त्रित बनाउन र दण्ड–जरिवानाको प्रावधान राखेर प्रेसमाथि नियन्त्रण गर्न खोजिएको भन्दै चौतर्फी विरोध भएपछि उक्त विधेयक अहिलेसम्म ‘टेबुल’ हुनसकेको थिएन ।

राष्ट्रिय सभामा दर्ता भएको उक्त विधेयकको विरोधमा नेपाल पत्रकार महासंघ लगायतका केही सरोकारवाला संस्थाहरूले आन्दोलनमा उत्रेपछि सरकारले त्यसलाई स्थगित गरेको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि उक्त विधेयकमा राखिएका कतिपय प्रावधानप्रति आपत्ति जनाउदै संसद नै अवरुद्ध गरेपछि त्यसलाई अघि बढाउन सरकारलाई सकस परेको थियो । तर केही दिनअघि सरकार र महासंघबीच समस्या समाधान गरेर जाने सहमति भएपछि महासंघले आन्दोलन स्थगित गरेको थियो ।

यसैबीच सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकार महासंघले अगाडि सारेका तीन बुँदे मागलाई सम्बोधन गर्न सरकार सकारात्मक भएको बताउँदै नेपाल समाचारपत्रसँग भन्नुभयो–छलफल सकारात्मक ढंगबाट अगाडि बढेको छ, अब विवाद गर्न आवश्यक छैन्, जायज माग पूरा गर्न सरकार तयार छ ।’

विपक्षी दलका प्रमुख सचेतक पाण्डेले आफ्नो दल र पत्रकार महासंघले उठाएको माग पूरा गर्न सञ्चारमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभएकाले छलफल सकारात्मक भएको बताउनुभयो ।

उहाँका अनुसार विधेयक टेबुल गर्नका लागि प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दलका नेताबीच केही दिनभित्रै छलफल हुनेछ । ‘प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दलका नेताबीच सहमति जुटेपछि संशोधन गर्ने शर्तमा विधेयक टेबुल हुन सक्छ’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले मिडिया काउन्सिल विधेयक अगाडि बढाउने विषयमा सत्ता पक्ष, प्रमुख प्रतिपक्ष र पत्रकार महासंघका प्रतिनिधिहरुबीच सकारात्मक छलफल भएको बताउनुभयो ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–सञ्चार मन्त्रीले सकारात्मक प्रतिबद्धता जनाउनु भएको छ, सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरुले प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दलका नेतासँग छलफलमा भएको विषय राख्ने कुरा भएको छ ।’

अध्यक्ष तिमिल्सिनाले सहमति जुटाएर आउँदो बुधबार बस्ने बैठकमा विधेयक टेबुल गर्ने गृहकार्य अगाडि बढाएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।