१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहमा बजेटै नल्याई खर्च



अ+ अ-

काठमाडौँ । बजेट पारित नगरी खर्च गरिरहेका गाउँ तथा नगरपालिकालाई कुनै पनि सुविधा नदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालय र वित्त आयोगलाई परिपत्र गरेको छ ।

मन्त्रालयका अनुसार मुलुकभरका १९ गाउँपालिका र १३ नगरपालिकाले चालु आर्थिक वर्षको बजेट ल्याएका छैनन् । बजेट नल्याई गरिएको खर्च गैरकानुनी हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ मा असार १० गतेभित्र गाउँ तथा नगरसभामा बजेट पेस गरिसक्नुपर्ने, असार २५ भित्र छलफल र मसान्तभित्र पास गरिसक्नुपर्ने व्यवस्था छ । तर ३२ वटा स्थानीय तहले गैरकानुनी रूपमा खर्च तथा कर असुली गरिरहेका छन् । समयमै बजेट नल्याएका स्थानीय तह सबैभन्दा बढी २२ वटा प्रदेश २ मा छन् । काभ्रेका तीन, रूपन्देहीका दुई र संखुवासभा, भक्तपुर, कञ्चनपुर, धादिङ र बाजुराका एकरएक स्थानीय तहले बजेट ल्याएका छैनन् ।

दलीय भागबन्डा र आन्तरिक किचलोका कारण ३२ स्थानीय तहले समयमै बजेट ल्याउन नसकेका हुन् । संखुवासभाको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले भने योजना तर्जुमामा ढिलाइ भएकाले समयमै बजेट पेस गर्न नसकिएको बताए । ‘आगामी दिनमा यसलाई सुधार गर्छौं,’ उनले भने । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा प्रमुख र उपप्रमुखबीच विवादले बजेट पेस भए पनि पारित भएको छैन ।

प्रमुख मदनसुन्दर श्रेष्ठ नेकपा र उपप्रमुख अञ्जनादेवी मधिकर्मी कांग्रेसका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भूपाल बरालका अनुसार गाउँ तथा नगरसभाबाट बजेट पास नभई खर्च गर्न र कर उठाउन पाइँदैन । ‘त्यस्ता स्थानीय तहले केन्द्रबाट कुनै पनि सुविधा पाउनु हुँदैन,’ प्रवक्ता बरालले भने, ‘कतिपय स्थानीय तहले ढिलो गरेर बजेट ल्याए । त्यसमा केही हदसम्म लचकता अपनाउन सकिन्छ ।’ उनले प्रमुखरअध्यक्ष र उपप्रमुखरउपाध्यक्ष भिन्नाभिन्नै राजनीतिक दलको हुँदा कतिपय स्थानीय तहले बजेट ल्याउन नसकेको बताए ।

वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले नीति तथा कार्यक्रम र बजेट पारित नगरी कर असुल र बजेट सञ्चालन गर्नु आर्थिक अपराध भएको बताए । उनले गाउँरनगरसभाबाट कानुनविपरीत बजेट खर्च गरेको पाइए कोष तथा लेखा नियन्त्रण कार्यालयका कर्मचारी कारबाहीको भागीदार हुने बताए ।

गतवर्ष केन्द्रले नै बजेट खर्चको अख्तियारी दिएकाले कारबाही नगरिए पनि अब त्यस्तो छुट कसैलाई नहुने उनले बताए । कानुनले तोकेको समयभित्र नीति तथा कार्यक्रम र बजेट नल्याउने स्थानीय सरकारलाई केन्द्रबाट जाने सबै सुविधा अर्थ मन्त्रालयले रोक्नुपर्ने उनले बताए । ‘कानुन उल्लंघन गर्ने स्थानीय तहलाई बजेटको अख्तियारी दिइएको पाइए महालेखा नियन्त्रक र कोष तथा लेखा नियन्त्रण कार्यालय जवाफदेही हुन्छन्,’ उनले भने ।

स्थानीय तहले आन्तरिक स्रोत व्यवस्थापनका लागि सभाबाट कानुन पास गरेर भूमि कर, घरजग्गा बहाल कर, व्यवसाय कर, बहाल (बिस्टोरी) शुल्क, पार्किङ शुल्क, जडिबुटीरकवाडी तथा जीवजन्तु कर र सेवा शुल्क उठाउन पाउँछन् । तर नीति तथा कार्यक्रम र बजेटबिना कर उठाउन नपाइने कानुनी व्यवस्था छ ।

स्थानीय तह एउटै स्वरूपमा
सरकारले मुलुकभरका स्थानीय तहको भौतिक संरचना एकै प्रकारको बनाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अस्थायी भवनमा सञ्चालित स्थानीय तहको भौतिक संरचनाका लागि गुरुयोजना निर्माणमा जुटेको छ । यसै वर्षभित्र संरचनाको डिजाइन बनाइसक्ने मन्त्रालयले जनाएको छ ।

७ सय ५३ स्थानीय तहमध्ये धेरैजसो पुरानो भवन र अस्थायी संरचनामा सञ्चालित छन् । ‘अस्थायी र पुराना संरचनामा बनेका पालिका कार्यालयलाई प्राथमिकताका आधारमा क्रमशः नयाँ भवनमा सार्छौं,’ संघीय मामिला तथा सामान्य प्रशासन सचिव यादवप्रसाद कोइरालाले भने । उनले भौतिकसंरचनामा एकरूपता ल्याउँदा खर्च पारदर्शी हुने बताएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।