११ आश्विन २०८१, शुक्रबार
,
Latest
न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

तान्जानियामा लगानी बढाउन अफ्रिकी राष्ट्रपतिसँग आग्रह



अ+ अ-

दार एस सलाम । तान्जानियाका राष्ट्रपति जोन मागुफुलीले आफ्नो मुलुकमा लगानी भित्र्याउनेतर्फ सहयोग गर्न दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसासँग आग्रह गर्नुभएको छ ।

दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसा हाल तान्जानियाको तीन दिने राजकीय भ्रमणमा हुनुहुन्छ ।

राष्ट्रपति मागुफुलीले दक्षिण अफ्रिकासँग आर्थिक सहयोगका विविध क्षेत्रमा मिलेर सहकार्य गर्न आफ्नो मुलुक तयार रहेको पनि बताउनुभएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसासँगको द्विपक्षीय वार्ताका क्रममा राष्ट्रपति मागुफुलीले दक्षिण अफ्रिकाका व्यापारिक समुदायलाई आफ्नो मुलुकमा लगानीका निम्ति अनुकूल अवस्था सिर्जना गरिदिन पनि अफ्रिकी राष्ट्रपति समक्ष आग्रह गर्नुभएको थियो ।

तान्जानियालाई आगामी सन् २०२५ सम्ममा मध्य आययुक्त मुलुक बनाउने योजना सफल बनाउन दक्षिण अफ्रिकाको सहयोग पनि अति जरुरी रहेको त्यस अवसरमा राष्ट्रपति मागुफुलीले बताउनुभएको थियो । दक्षिण अफ्रिकासँग रहेको नवीन औद्योगिक प्रविधिलाई तान्जानियामा पनि विस्तार गर्न सकिने उहाँको भनाई छ ।

“दक्षिण अफ्रिकी लगानीकर्ताहरुसँग औषधि उत्पादन र खनिज प्रशोधनमा व्यापक क्षमता छ । यी उद्योग तान्जानियामा स्थापना गर्नेगरी हामी जस्तोसुकै सहयोग गर्न तत्पर छौं,” राष्ट्रपतिले भन्नुभयो ।
त्यस अवसरमा राष्ट्रपति मागुफुलीले आफ्नो मुलुकको प्रचूर संभावनायुक्त पर्यटन क्षेत्रमा लगानी बढाउन र बढीभन्दा बढी अफ्रिकी पर्यटकलाई स्वागत गर्न आफ्नो मुलुक तत्पर रहेको बताउनुभएको थियो । दक्षिण अफ्रिकामा बर्सेनि एक करोड पर्यटक आउँछन् भने तान्जानियामा करिब १५ लाख पर्यटकले भ्रमण गर्दछन् ।

हाल तान्जानियामा उत्पादित निकासीयोग्य सामग्रीमध्ये करिब ७० प्रतिशत दक्षिण अफ्रिका निकासी हुन्छ । पछिल्ला वर्ष यी दुई मुलुकबीचको व्यापार वृद्धि बढ्दै गएको छ ।
एक तथ्याँक अनुसार सन् २०१८ मा दुई मुलुकबीचको व्यापार करिब एक अर्ब अमेरिकी डलर थियो ।

दुई राष्ट्रपतिको वार्ताका क्रममा दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसाले तान्जानियामा हाल २२८ वटा अफ्रिकी कम्पनी कार्यरत रहेका र त्यहाँ २१ हजारभन्दा बढीले रोजगारी पाइरहेको बताउनुभयो । उहाँले तान्जानियामा दक्षिण अफ्रिकी लगानी बढाउन आफूले सक्दो पहल गर्ने बताउँदै तान्जानियाका लगानीकर्तालाई पनि दक्षिण अफ्रिकामा लगानीका लागि आमन्त्रण गर्नुभयो ।

तान्जानियाले पछिल्ला वर्षमा खाद्य उत्पादनमा गरिरहेको प्रगति निकै सन्तोषजनक रहेको चर्चा गर्दै राष्ट्रपति रामाफोसाले तान्जानियाबाट खाद्य सामग्री खरिदलाई निरन्तरता दिइने बताउनुभयो ।