२२ असार २०८३, सोमबार
,
Latest
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकको पर्खाइमा भूमेश्वर



अ+ अ-

बैतडी । दशरथचन्द राजमार्गदेखि आधा घण्टाको पैदलदुरी हिँडेपछि पुगिन्छ पातालभुमेश्वर धाममा। सुर्नया गाउँपालिका र पाटन नगरपालिकाको सीमानामा अवस्थित पातालभुमेश्वर धाम परापूर्व कालमा सतीदेवीको पैतला खसेर धामका रूपमा स्थापित भएको किम्वदन्ती छ।

कहिले नसुक्ने ताल, प्राकृतिक गुफा, घना जंगलको बीचमा पातालभूमेश्वर मन्दिर रहेको छ। धाम प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ। पातालभूमेश्वर परिसरमा थुप्रै गुफा रहेका र तीमध्ये मुख्य गुफा दक्षिण एसियाकै लामो गुफा भएको फ्रान्सेली गुफा विशेषज्ञको टोली बताएको स्थानीय मोहनबहादुर बिष्टले बताए।

उनले भने, ‘पातालभूमेश्वरमा दक्षिण एसियाकै लामो गुफा हुन सक्छ भनेर गुफा विशेषज्ञको टोलीले भनिसकेको छ। तर हाम्रोमा अध्ययन अनुसन्धान नहुँदा यो ओझेलमा पर्दै गएको छ।’ पातालभूमेश्वर धाम परिसरमा रहेको प्राकृतिक ताल कहिले नसुक्ने र यो ताल कति गहिरो छ भन्ने स्पष्ट नभएको बिष्टले बताए।

अग्लो डाँडाको बीचमा प्राकृतिक ताल र यसमा बाह्रै महिना पानी हुनु रहस्यको कुरा भएको उनले बताए। उनले भने, ‘नेपालका पहिलो जगदगुरु बालसन्त मोहनशरण देवाचार्य पनि यो ठाउँमा पुग्नुभएको छ। उहाँले यो ताललाई सीताकुण्डको रुपमा विश्लेषण गर्नुभएको छ।’

पातालभूमेश्वर गुफा धार्मिक हिसाबले पनि अत्यन्तै महत्त्वपूर्ण गुफा भएको स्थानीय नरेन्द्रबहादुर बिष्टले बताए। उनले भने, ‘पातालभूमेश्वर गुफा भएर पाण्डव वनवास गएको भन्ने किम्वदन्ती छ। यस्तो धार्मिक तथा पौराणिक महत्त्व बोकेको क्षेत्रको संरक्षणका लागि स्थानीय सरकारले ध्यान दिनुपर्छ।’

पातालभूमेश्वरमा पछिल्लो समयमा विवाह, ब्रतबन्ध अन्य धार्मिक कार्य तथा वनभोजका लागि रोजाइमा पर्ने गरेको भए पनि बाटो, पानी र आवश्यक भौतिक पूर्वाधार अभावमा ओझेलमा पर्दै गएको स्थानीयको गुनासो छ।

पातालभूमेश्वर धामको प्रचारप्रसारका लागि गाउँपालिकाले पहल गरिरहेको गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले बताए। उनले भने,‘हामीले पातालभूमेश्वर क्षेत्रको सीमांकनका लागि पहल गरिरहेका छौं। यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न हामीले पहल गरिरहेका छौं।’ धाममा साउनको महिनाभर पूजाआजा गर्ने चलन छ। महाशिवरात्रीको दिन ठूलो मेला लाग्ने गर्दछ। मेलामा सुदूरपश्चिमका विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन्।

समन्वय समिति गठन

पाताल भुवमेश्वर धामको विकास, संरक्षण र प्रचारप्रसारका लागि नेपालका ऐतिहासिक प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले पनि चासो लिएका छन्। उनकै उपस्थितीमा केही दिन अघि समन्वय समिति पनि गठन भएको छ। जिल्ला समन्वय समितिका प्रमुख सिद्धाराज भट्टको संयोजकत्वमा गठन गरिएको समितिले धामको सीमा निर्धारण लगायतका काम गर्ने छ।

‘हामीले पातालभुमेश्वर धामको महिमाका बारेमा प्रचारप्रसार गर्नका लागि प्रयास शुरु गरेका छौं। डिभिजन वन कार्यालय र नापीशाखासंग समन्वय गरिसकेका छौं। यसको सीमाना छुट्याएर यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजनामा लागेका छौं’ संयोजक भट्टले भने।

पाताल भमेश्वरका बारेमा पुराणको मानसखण्डमा उल्लेख गरिएको जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले बताए। उनले भने ‘सुर्नया नदी र रामगंगा नदीको बीचको अग्लो डाँडोमा पातालभुमेश्वर धाम छ। यो धाममा दर्शन गरेमा मनोकामना पूर्ण हुन्छ भन्ने कुरा लेखिएको छ। यो मैले भनेको कुरा होइन्। पुराणमा उल्लेख गरिएको कुरा हो।’, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।