४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

असिनाले मकै सोत्तर, खडेरीले धान

असिनाले मकै सोत्तर, खडेरीले धान
अ+ अ-

पर्वत । गत जेठ पहिलो साता आएको असिनाले मकै सोत्तर पार्दा फलेबास–३ की भीमकुमारी जैसी उतिसारो हतोत्साही थिइनन् । १२ रोपनी खेतमा धान रोप्न बाँकी थियो । धानको बीउ उम्रेर हरियो भइसकेको थियो । ‘मकै राम्रै फल्दा पनि बाँदरले राख्दैनथ्यो,’ उनले भनिन्, ‘बाँदरले खाने मकै असिनाले खायो भनेर चित्त बुझाएँ । अहिले धानको बीउ काटेर भैंसीलाई खुवाउनुपरेको छ । हिउँदमा के खाने ?’

भीमकुमारीको मात्रै होइन, स्थानीय धेरै किसान रोपाइँ गर्न नपाएर चिन्तित छन् । यज्ञ पौडेल, होमप्रसाद भुसाल, क्षेत्रप्रसाद गौंडेललगायत २५ जनाभन्दा बढी किसानले यो वर्ष धान रोप्न पाएनन् । गत वर्ष कृषि प्राविधिकले सिफारिस गरेको धानमा बाला नलागेपछि रन्थनिएका किसान हिउँदको असिना र अहिलेको खडेरीले झनै पीडित छन् ।

असिनापानीले क्षति पुर्‍याएका फलेबासको रुग्दी, पुर्कोट, चाम्लेस्वाँरा, कार्कीथर, मैदान, डाँडाका किसानले धान रोप्न पाएका छैनन् । त्यस्तै मोदी गाउँपालिकाको भुम, ओखलढुङ्गा, बाउसे, खबरा, बाजुङ, ठाँटी, साउनेपानी, धारापानी, चित्रेका अधिकांश किसानले धान रोपेनन् । कुश्मा नगरपालिकाको चुवा, परादी, ठुलीपोखरी, छमर्के, खौलालगायतमा पनि अधिकांश खेत बाँझै छन् ।

बिहादीको रानीपानी, बर्राचौर, कुँडादी, पराजुलीथर लगायतमा रोपेको धान पनि सुक्दै गएको किसानले बताए । ‘आठ हलमध्ये तीन हलमा मुस्किलले गाबो गाडेका थियौं,’ बिहादी–३ का केशव पराजुलीले भने, ‘त्यो पनि भिजाउनै सकिएन । धान रोपेको ठाउँमा बोके फुलेको छ । रोपो हरायो ।’ मोदी–६ तिलाहारका गजेन्द्रबहादुर मल्लले भएभरको खेत बाँझिएको बताए । ‘असिनाले मकै सोत्तर पार्‍यो,’ मल्लले भने, ‘खडेरीले धान । अब कसरी परिवार पाल्ने ?’

कृषि ज्ञानकेन्द्रका अनुसार असिनाले मोदीमा मात्रै ३ करोड ७३ लाख ९० हजार ७८० रुपैयाँको बाली नष्ट गरेको थियो । फलेबास नगरपालिकामा २ करोड २० लाख २९ हजार ४२० रुपैयाँको बालीनाली नष्ट गरेको थियो । साउन सकिएर भदौ लाग्दा समेत असिनाले क्षति पुर्‍याएकै गाउँमा वर्षा भएको छैन । एक–दुई दिन बिराएर भएको हल्का वर्षामा पनि मनसुनको झल्को छैन । ‘पल्लो गाउँमा परेको पानी यता आउँदैन,’ मोदीका रामबहादुर परियारले भने, ‘बिहान पानी पर्लाजस्तो भएर हलगोरु लिएर खेतमा जान्छौं । दिउँसो टन्टलापुर घाम लाग्छ । धेरै दिन यस्तो भएपछि सबै खेत बाँझै छ ।’

असार र साउनमा परेको पानीले लेकाली क्षेत्रमा समेत मूल फुट्नुपर्ने हो तर विगतका वर्षमा ठुल्ठुला मूल फुट्ने ठाउँ अहिले सुक्खा छन् । वर्षाले धानखेती नभएपछि हिउँदमा भोकभोकै बस्नुपर्ने समस्या भएको किसानको गुनासो छ । असार र साउनमा पर्याप्त वर्षा नभएका कारण जिल्लाको १५ प्रतिशत बढी धानखेतमा रोपाइँ हुन नसकेको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

रोपाइँका लागि आवश्यक पानी नभएकाले खेत ढिलो रोपिएको र केही खेत बाँझो रहेको ज्ञानकेन्द्र प्रमुख बासुदेव रेग्मीले बताए ।

जिल्लाका मुख्य धान फल्ने क्षेत्रको स्थलगत अवलोकन गरेका रेग्मीले बुढो बीउ, ढिलो रोपाइँ र खडेरीले रोप्न नपाउँदा उत्पादन पनि घट्ने सम्भावना रहेको बताए । पर्वतमा करिब ९ हजार हेक्टर क्षेत्रफल वर्षे धानखेतीका लागि योग्य छ ।

पानी अभाव, उत्पादनयोग्य जमिनको प्लटिङ, सडक विस्तारका नाममा भएको भूक्षय र खेतको नोक्सान, बसाइँसराइ, कृषि मजदुर अभावलगायत कारण ८ हजार ७ सय हेक्टर क्षेत्रफलमा मात्रधान लगाउने गरिएको तथ्यांक छ । पर्वतमा प्रतिहेक्टर जमिनमा २।८ मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।