४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा व्यक्तिका नाममा

बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा व्यक्तिका नाममा
अ+ अ-

नेपालगन्ज । पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा विभिन्न व्यक्तिका नाममा रहेको तथ्य बाहिरिएको छ। जिल्लाको साबिक इन्द्रपुर गाविसमा रहेको मन्दिरको जग्गा ३ सय व्यक्तिले आफ्नो नाममा गराई लालपुर्जासमेत लिइसकेका छन्।

इन्द्रपुर ‘क’ अन्तर्गत कित्ता नं. २३, २९, ३५, १७, ३७, २८०, १०८ र १५६ को २ बिघा ३ कट्ठा ८ धुर जग्गा गोकर्ण कुर्मीको नाममा गएको देखिन्छ। यस्तै इन्द्रपुर–३ ‘क’ अन्तर्गत कित्ता नं। ६१२ को १५ कट्ठा ६ धुर जग्गा अब्दुल हसिब सिद्धिकीका नाममा रहेको छ। गोकर्ण र सिद्धिकीले जस्तै अरूले पनि मन्दिरको जग्गा ‘रैकर’ मा परिणत गरी आफ्नो नाममा गराएको पाइएको छ। कतिपयले आफ्नो नाममा पारिएको जग्गा बिक्रीसमेत गरिसकेका छन्।

मालपोत कार्यालयमा देखिएको लगतअनुसार सो जग्गा पहिले बागेश्वरी मन्दिरका नाममा भए पनि जग्गा जोतभोग गर्दै आएकाले रैकरमा परिणत गरी लालपुर्जा लिएको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपालप्रसाद अधिकारीले बताए। जग्गाधनीले रैकरबापत ‘राजगुठी’ अन्तर्गत दर्ता भएको बागेश्वरी गुठी व्यवस्थापन समितिलाई मालपोतका रुपमा वार्षिक ७ हजार रुपैयाँ बुझाउँदै आएको उनले जानकारी दिए। समितिका अनुसार गुठीको जग्गामा बसोबास गरेका व्यक्तिसँग राज्यले केही शुल्क लिएर त्यसलाई उनीहरूका नाममा पास गरिदिने व्यवस्था ‘रैकर’ हो।

‘बागेश्वरी मन्दिरको यति धेरै जग्गा कुन समयमा, कसरी र कुन प्रक्रियाबाट व्यक्तिका नाममा गयो भन्ने छानबिन चलिरहेको छ,’ सचिव अधिकारीले भने, ‘कुन कानुनमा टेकेर गुठीको जग्गा रैकरमा परिणत गरियो, त्यसको छानबिन हुनु जरुरी छ।’ यस विषयमा समितिले सूक्ष्म रूपले छानबिन गरिरहेकाले सबै कुरा बोल्न नमिल्ने उनले बताए। मन्दिरको सम्पत्ति छानबिन गर्न चुनौतीपूर्ण रहेको पनि उनले स्पष्ट पारे। ‘सरकारी अड्डाबाट कागजात पाउनै मुस्किल छ। कहिले कर्मचारी नहुने, कहिले भएका कर्मचारीले पनि काम नगरिदिने,’ सचिव अधिकारीले भने, ‘मन्दिरको जग्गा पत्ता लगाउनै मात्र डेढ वर्ष लाग्यो।’

विस्तृत छानबिन प्रक्रिया टुंगो लागिसकेपछि अबको १५ दिनभित्र बागेश्वरी मन्दिरको जग्गाजमिनलगायत सम्पत्तिको यथार्थ विवरण सार्वजनिक गर्ने तयारी रहेको अधिकारीले सुनाए। ८४ बिघाबाहेक अब नेपालगन्ज उपमहानगरपालिका–२ स्थित बागेश्वरी मन्दिर परिसरमा दुई कित्तामात्र जग्गा बचेको छानबिन समितिले जनाएको छ। समितिका अनुसार कित्ता नम्बर ९० को ७,९३२.८५ वर्गमिटर र कित्ता नम्बर १६३ को ४,९५१.२५ वर्गमिटर क्षेत्रफल जग्गा मात्र बाँकी रहेको हो। अझ गहिराइमा पुगेर छानबिन गर्ने हो भने केही ठाउँमा बागेश्वरी मन्दिरको जग्गा पत्ता लाग्ने सम्भावना रहेको पनि समितिका पदाधिकारीले बताए।

बागेश्वरी गुठी व्यवस्थापन समितिमा यसअघि प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहँदै आएकोमा स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएपछि नयाँ समिति पुनर्गठन गरियो। २०७४ असोज १० गते नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा। धवलशमशेर राणाको अध्यक्षतामा समिति पुनर्गठन गरिएको थियो। सोही समितिले मन्दिरको संरक्षण, संवद्र्धनका साथै सम्पत्ति छानबिन प्रक्रिया अगाडि बढाउन उपप्रमुख उमा थापामगरको संयोजकत्वमा छुट्टै छानबिन समिति बनायो।

मन्दिरको आय–व्ययबारे सञ्चार माध्यम र नागरिक समाजले उठाएको विषयलाई सम्बोधन नगरेपछि नेपालगन्जका कानुन व्यवसायीले तत्कालीन पुनरावेदन अदालत नेपालगन्जमा मुद्दा दायर गरेका थिए। अदालतले यसअघि २०७३ असार २२ गते निवेदकको पक्षमा परमादेश दिएको थियो। मन्दिरको सम्पत्ति नियमित अभिलेख राख्न, आय–व्यय विवरण सार्वजनिक गर्न, मन्दिरलाई प्राप्त चल–अचल सम्पत्ति व्यवस्थित र एकीकृत गरी सो रकम मन्दिरको हितमा प्रयोग गर्नुपर्नेलगायत विषयमा अदालतले गरेको आदेश कार्यान्वयन गर्न समिति सक्रिय भयो र सोही समितिको सक्रियतामा मन्दिरका दुईवटा तिजौरी ९बाकस० खोल्दा २० किलो ३ सय ग्राम चाँदी र दुई तोला सुन मात्र फेला परेको थियो। त्यो सुनचाँदी अहिले पनि नेपाल बैंक लिमिटेड नेपालगन्जको लकरमा राखिएको छ।

छानबिन समितिले मन्दिरको ८४ बिघा जग्गा अरुकै नाममा रहेको पत्ता लगाएपछि अहिले बागेश्वरी मन्दिरको सम्पत्तिबारे सर्वत्र चासो बढ्न थालेको छ। ‘बागेश्वरी मन्दिरको जग्गा कसरी व्यक्तिको नाममा रैकर भएर गयो ?’ नेपाल बार एसोसियसनका केन्द्रीय उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले भने, ‘मन्दिरको कुन–कुन कित्ता हो भन्नेमै अन्योल छ।’ मन्दिरको जग्गा व्यक्तिको नाममा कसरी गयो भन्ने छानबिन हुनुपर्ने उनको माग छ।

छानबिन समितिकी संयोजक एवं उपप्रमुख थापाले जग्गाको स्रेस्ता निकाल्न जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयलाई जिम्मा दिइएको र जग्गाको यथार्थ अवस्था पत्ता लागिसकेको बताइन्। ‘जग्गाको स्रेस्ता निकाल्ने काम भइसकेको छ, अब छिट्टै जग्गाको अवस्था सार्वजनिक गर्नेछौं,’ उनले भनिन्। भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख प्रेमबहादुर दौल्यालले मन्दिरको ८४ बिघा जग्गा कुन समयमा कसरी व्यक्तिको नाममा गयो भन्ने कुरा सबै कागजात हेरेपछि थाहा हुने प्रतिक्रिया दिए। ‘अहिलेसम्म मन्दिरको जग्गा रैकर प्रक्रियाबाट गएको देखिन्छ,’ उनले भने, ‘तर यति धेरै जग्गा कसरी र कुन बेला गयो भन्ने कुरा पत्ता लगाउन कागजात हेर्नुपर्छ।’, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।