काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको प्रयासबाट मात्र सम्भव नहुने बताउँदै राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्प आवश्यक रहेको बताउनुभएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सदस्यहरूसँगको भेटमा राष्ट्रपति पौडेलले समृद्ध नेपाल निर्माणको संकल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार, सिर्जनशील र अग्रणी भूमिकामा प्रस्तुत हुनुपर्ने बताउनुभयो।
उहाँले नेपालको आर्थिक समृद्धिमा निजी क्षेत्रले पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै महासंघमा आबद्ध १४ लाखभन्दा बढी व्यवसायीको प्रगति समग्र देशकै प्रगति भएको उल्लेख गर्नुभयो।
राष्ट्रपति पौडेलले नेपालको अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। सरकारले नीतिगत स्थिरता, लगानीको सुरक्षा, पूर्वाधार विकास, सहज प्रशासन र व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्ने तथा निजी क्षेत्रले लगानी, उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनालाई थप विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो।
उहाँले अबको प्राथमिकता उत्पादन वृद्धि, निर्यात प्रवद्र्धन, स्वदेशी तथा विदेशी लगानी आकर्षण, रोजगारी सिर्जना र नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा केन्द्रित हुनुपर्ने बताउनुभयो।
जलविद्युत्, पर्यटन, कृषि तथा कृषिजन्य उद्योग, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा रहेका सम्भावनालाई परिणाममुखी ढंगले उपयोग गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले देशको युवा जनशक्तिलाई स्वदेशमै अवसर र उद्यमका सम्भावना सिर्जना गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो।
डिजिटल रूपान्तरण र विश्वव्यापी प्रतिस्पर्धाको वर्तमान युगमा महासंघले आफ्नो राष्ट्रिय सञ्जाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालसँग जोड्दै नेपाली उत्पादन, सेवा र उद्यमलाई विश्व बजारमा पु¥याउन थप नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।
नेपालले हालै ठूलो प्राकृतिक विपद्को सामना गर्नुपरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले विपद्को समयमा उद्धार तथा राहतका लागि महासंघले देखाएको तत्परता, सहयोग र सहकार्यको समेत प्रशंसा गर्नुभयो।








