२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सुनको मूल्य बढ्यो, चाँदीको घट्यो News Polar विपद्पछि पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन मुख्यमन्त्री थापाको निर्देशन News Polar साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar निधीले भने– ‘विशेष महाधिवेशनले कांग्रेसलाई विभाजित गर्‍यो, अब नयाँ घर निर्माण गर्नुपर्छ’ News Polar पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च News Polar डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल News Polar कांग्रेसको मतदान दिउँसो १ बजेदेखि, अहिलेदेखि लाइनमा नबस्न निर्वाचन समितिको आग्रह News Polar चाडबाड नजिकिँदै अनलाइन ठगी बढ्यो, पोखरामा एकै व्यक्तिबाट ४ लाख ४२ हजार असुली News Polar बलिउड अभिनेता नाना पाटेकरको निधन News Polar शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ बजेदेखि News Polar मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली News Polar आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली News Polar चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा News Polar कांग्रेसको नयाँ नेतृत्व चयन गर्न  मतदान हुँदै News Polar आज  विश्व दृष्टि दिवस News Polar निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ? News Polar बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

कांग्रेसको मतदान दिउँसो १ बजेदेखि, अहिलेदेखि लाइनमा नबस्न निर्वाचन समितिको आग्रह

कांग्रेसको मतदान दिउँसो १ बजेदेखि, अहिलेदेखि लाइनमा नबस्न निर्वाचन समितिको आग्रह
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज दिउँसो १ बजेदेखि मतदान हुने भएको छ।

यसअघि बिहान ७ बजेका लागि तोकिएको मतदान समय पटक–पटक सारिएको हो। बिहान १० बजे मतदान गर्ने तयारी भए पनि वर्षा तथा प्राविधिक कारणले दिउँसो १ बजेदेखि मतदान सुरु गर्न लागिएको केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिनुभयो।

महाधिवेशनका ७ हजार २५५ जना प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। निर्वाचन समितिले प्रतिनिधिहरूलाई अहिले नै मतदानस्थलमा लामो लाइनमा नबस्न आग्रह गरेको छ।

निर्वाचन व्यवस्थापनबारे निर्वाचन समितिले बिहान ११ः३० बजे सभापति, उपसभापति र महामन्त्री पदका सबै उम्मेदवारसँग राष्ट्रिय सभा गृहस्थित निर्वाचन कार्यालयमा छलफल गर्ने जनाएको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार मतदान व्यवस्थापन र निर्वाचन प्रक्रियाबारे उम्मेदवारहरूसँग छलफल गरिनेछ।

निर्वाचन समितिले प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरेको छ। संशोधित निर्वाचन कार्यतालिकाअनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन्।

खुलामञ्चमा रहेको मतदान केन्द्र ‘ख’ बाट कोशी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ। गण्डकी प्रदेशका प्रतिनिधिका लागि हिमाल हल, मधेश प्रदेशका प्रतिनिधिका लागि तराई–मधेस हल तोकिएको छ।

त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले खुलामञ्चमा रहेको पहाड हलबाट मतदान गर्नेछन्।

मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्नुपर्नेछ। मतदानअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिने निर्वाचन समितिले जनाएको छ।

निर्वाचन आचारसंहिताले निषेध गरेका मोबाइल फोनलगायतका सामग्री मतदानस्थलमा लैजान पाइने छैन। निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्रै प्रतिनिधिले मतदान गर्न पाउनेछन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। निर्वाचन समितिले बुधबार साँझ उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको थियो।

मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्ने र मतगणना सकिएपछि निर्वाचन परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिले जनाएको छ।

१५औँ महाधिवेशनले विधान संशोधन गर्दै कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ।