काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले बिहीबार बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम छ। बिहीबार देशभरका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
शुक्रबार पनि हिमाली र पहाडी भूभागमा बदली रहनेछ। कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा सामान्य बदली र बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ। सो दिन कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।








