काठमाडौँ । माछापुच्छ्रे बैंकले ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ ।
बैंकले ‘इन्टरनेसनल फाइनान्स इनोभेसन अवार्ड्स २०२६’ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट’ विधामा ‘प्लाटिनम अवार्ड’ प्राप्त गरेको हो । ग्राहकको खाता खोल्नेदेखि बैंकिङ सेवामा जोडिने प्रक्रियालाई सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरेको ‘रिइन्भेन्टिङ कस्टमर अनबोर्डिङ’ मा गरेको पहलका लागि बैंकलाई उक्त सम्मान प्रदान गरिएको जनाएको छ ।
‘इन्टरनेसनल फाइनान्स इनोभेसन अवार्ड्स’ ले बैंक तथा वित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन र ग्राहककेन्द्रित सेवाका क्षेत्रमा गरेका उत्कृष्ट कार्यलाई सम्मान गर्दै आएको छ । सन् २०२६ को संस्करणमा विश्वभरबाट नौ विधामा ५०० भन्दा बढी आवेदन परेकामध्ये उत्कृष्टलाई पुरस्कार प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार उक्त सम्मानले डिजिटल रूपान्तरण र ग्राहक सम्बन्ध सुधारलाई प्राथमिकतामा राख्दै आएको प्रयासलाई प्रतिबिम्बित गरेको छ । बैंकले ग्राहकलाई सरल, सहज, छिटो र सुरक्षित बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले डिजिटल प्रविधिको प्रयोगलाई निरन्तर विस्तार गर्दै आएको छ ।
यसैगरी, बैंकले ‘बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट’ शीर्षकमा अर्को अन्तर्राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेको छ । ‘इन्डियन चेम्बर अफ कमर्स’ ले नयाँ दिल्लीमा आयोजना गरेको ‘फोर्थ इमर्जिङ एसिया बैंकिङ कन्फरेन्स एन्ड अवार्ड्स २०२६’ मा बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा तरलता जोखिम व्यवस्थापनका क्षेत्रमा बैंकले गरेको प्रयासको सम्मानस्वरूप उक्त पुरस्कार प्रदान गरिएको जनाएको छ । बैंकका अनुसार यस सम्मानले सुरक्षित, जिम्मेवार र सावधानीपूर्ण बैंकिङ अभ्यासलाई प्राथमिकता दिएको पुष्टि गरेको छ ।
यी दुई अन्तर्राष्ट्रिय सम्मानसँगै माछापुच्छ्रे बैंकले पछिल्ला वर्षहरूमा विभिन्न प्रतिष्ठित पुरस्कार प्राप्त गर्दै आएको जनाएको छ । बैंकले ‘भिसा लिडरसिप कन्फरेन्स अवार्ड्स २०२३ र २०२४’, ‘इन्टरनेसनल फाइनान्स इनोभेसन अवार्ड्स २०२३ र २०२५’ तथा ‘राइजिङ स्टार इन एसेट क्वालिटी अवार्ड्स २०२५’ लगायतका सम्मान प्राप्त गरिसकेको छ ।








