५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

८ वर्षसम्म बनेन क्यान्सर अस्पताल

८ वर्षसम्म बनेन क्यान्सर अस्पताल
अ+ अ-

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा तीन वर्षभित्र बनाइसक्नुपर्ने गरी सम्झौता भएको क्यान्सर अस्पताल भवन आठ वर्षमा पनि पूरा नभएपछि त्यसको कारण खोज्न प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बुधबार तीन सदस्यीय अध्ययन कार्यदल बनाएको छ ।

शिक्षा तथा स्वास्थ्य समिति सदस्य सांसद अन्जना विशंखेको संयोजकत्वमा गठित कार्यदलमा एकवाल मियाँ र सरिता न्यौपाने सदस्य छन् । कार्यदललाई ५ दिने कार्यावधि दिइएको छ ।

कार्यदलले भवनको स्थिति, सम्झौतापत्रको अध्ययन, सम्झौताअनुसार काम नहुनाको कारण, भेरिएसनका नाममा रकम वृद्धि गरिनुको कारण, विभिन्न निकायको भूमिकालगायत विषयमा अध्ययन गर्नेछ । सरोकारवाला निकायका पदाधिकारीलाई बुधबार समितिमा बोलाएर छलफल गरेपछि थप अध्ययनका लागि कार्यदल बनाएको समिति सभापति जयपुरी घर्तीले बताइन् । ‘तीन वर्षमा बन्नुपर्ने भवन ८ वर्षमा पनि बन्न नसकेर लथालिंग भएपछि अध्ययन गर्न कार्यदल बनाएका हौं,’ घर्तीले भनिन्, ‘कार्यदलले अध्ययन गरेर रिपोर्ट दिएपछि के–कस्तो कारबाही अघि बनाउने भन्ने निर्णय गर्नेछौं ।’

ठेकेदार कम्पनीलाई तीन पटक म्याद थप गर्दै करिब ६ करोड लागत बढाउँदा पनि भवन सम्पन्न भएको छैन । निर्माणमा ढिलाइ र लागत बढाइनुमा जिम्मेवार निकायको गैरजिम्मेवारीपन र आर्थिक चलखेल हुन सक्ने समिति सदस्यहरूले आशंका व्यक्त गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बहुवर्षीय परियोजनाअन्तर्गत शिक्षण अस्पताल परिसरमा सुरेश वाग्ले स्मृति क्यान्सर अस्पताल भवन बनाउन ०६८ मंसिर २८ गते सम्झौता भएको हो । तीनवर्षे म्यादअनुसार ०७१ मंसिर २७ गते भवन निर्माण सम्पन्न हुने अन्तिम मिति थियो । पहिलो, दोस्रो र तेस्रो पटक निर्माण कम्पनीलाई म्याद थप्दा पनि भवन अहिलेसम्म पूरा हुन सकेको छैन । तेस्रो पटक थपेको म्यादको मिति ०७४ फागुन ११ गते सकिएको छ ।

५५ करोड ५१ लाख २८ हजार रुपैयाँमा सम्झौता भएको भवनको लागत मूल्यवृद्धिलगायत बहानामा रकम थप (भेरिएसन) गर्दै ६१ करोड, २१ लाख, ८७ हजार रुपैयाँ पुर्‍याइएको छ । म्याद थप गर्दै भेरिएसनका नाममा ५ करोड ७० लाख रुपैयाँ वृद्धि गरिएको हो ।

निर्माणको ठेक्का संयुक्त रूपमा पाउनेमा गौरा कन्स्ट्रक्सन प्रालि र एटलस इन्जिनियरिङ कम्पनी प्रालि छन् । शिक्षा समितिले ढिलाइ हुनुको कारणबारे जानकारी लिन बोलाएको छलफलमा बुधबार त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेती, चिकित्साशास्त्र अध्ययन संस्थानका डिन जगदीश अग्रवाल, शिक्षण अस्पतालका निर्देशक प्रेमकृष्ण खडका, शिक्षा सचिव खगराज बराल र स्वास्थ्य सचिव रामप्रसाद थपलिया उपस्थित थिए ।

छलफलमा बोलाइए पनि सहरी विकास तथा भवन विभागका महानिर्देशक अनुपस्थित भएको समितिले जनाएको छ । ‘अन्तिम पटक म्याद थप्दा पनि भवन पूरा हुन सकेको छैन,’ रजिस्ट्रार उप्रेतीले भने, ‘अब समितिले जे निर्देशन दिन्छ, त्यहीअनुसार हामी अघि बढ्छौं ।’

त्रिवि रजिस्ट्रारको कार्यालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ०७६ साउन १९ गते लेखेको पत्रअनुसार तेस्रो पटक म्याद थप्दा पनि निर्माण कार्य सम्पन्न नभए निर्माण कम्पनीसँग क्षतिपूर्ति असुल गर्ने भनिएको छ । तेस्रो पटकको म्याद सकिएको साढे एक वर्ष पूरा भइसकेको छ ।

रजिस्ट्रारको कार्यालयको पत्रअनुसार ०७४ को चुनाव र निर्माण स्थलमा एक कामदारको मृत्युको कारण अवरोध भएर म्याद थप्दा पनि सम्पन्न हुन नसकेको उल्लेख छ । पत्रमा भवन निर्माणको आर्थिक स्रोत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उल्लेख छ ।

त्रिविअन्तर्गतका स्वतन्त्र विद्यार्थी युनियन महाराजगन्ज मेडिकल क्याम्पस,युवा चिकित्सक संघ र नेपाल जनस्वास्थ्य संघले विशिष्टीकृत क्यान्सर सेवा प्रदान गर्ने अस्पताल तत्काल निर्माण र सञ्चालन गर्न माग गर्दै समितिमा निवेदनसमेत दिएका छन् ।

अध्ययन कार्यदलले बिहीबारदेखि काम सुरु गर्ने संयोजक विशंखेले जानकारी दिइन् । ‘हामीले सरोकार निकायलाई यो अस्पतालको सम्झौतापत्र र कार्य विवरण पठाइदेऊ भन्दा पनि एकले अर्कोलाई पन्छाउने र देखाउने गरेर पठाएनन्,’ उनले भनिन्, ‘अहिलेसम्म के–के काम भयो, भवन किन पूरा हुन सकेन, रकम के–कति भुक्तानी भएको छ लगायत विषयमा छानबिन गरी यो अस्पताललाई कसरी हुन्छ, हामी सञ्चालन गर्ने बनाउँछौं ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।