२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको मिर्गौलामा खराबी, १० दिन सिंगापुरमै बस्ने



अ+ अ-

काठमाडौं । शरीरमा एन्टिबडीको मात्रा बढी देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली थप परीक्षणका गर्न बिहीबार अपराह्न सिंगापुरतर्फ गएका छन् । प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा मिर्गौलाको कार्यक्षमता र औषधिको प्रभाव सम्बन्धमा परीक्षण हुनेछ ।

दुवै मिर्गौला प्रत्यारोपण गरेको १२ वर्षपछि खराबी देखिएको छ । ओलीको शरीरमा एन्टिबडी देखिएको निजी चिकित्सक डा. दिलीप शर्माले बताए । डा. शर्माले भने, ‘प्रधानमन्त्रीको सम्पूर्ण स्वास्थ्य परीक्षण हुनेछ । उपचारको मोडालिटीबारे थप नयाँ कुरा पनि आउनेछन् ।’ ओलीको उपचारका लागि सातदेखि दस दिनसम्म लाग्ने शर्माले बताए ।

प्रधानमन्त्री ओलीले यसअघि १० दिन (साउन १८ गतेदेखि २७ गतेसम्म) सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए । एन्टिबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उनी पुनः सिंगापुर जानुपरेको डा. दिव्यासिंह शाहले बताइन् । डा. शाह सिन ओलीसँगै सिंगापुर गएकी छन् ।

मिर्गौलाको कार्यक्षमतामा ह्रास

६७ वर्षीय ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएको चिकित्सकहरूले बताएका छन् । वरिष्ठ मिर्गौला रोग विशेषज्ञसमेत रहेकी निजी चिकित्सक डा. शाहका अनुसार ओलीको शरीरमा मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा केही बढी देखिएको छ । एन्टिबडी बढ्दा प्रत्यारोपण गरिएको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएको संकेतका रुपमा लिनुपर्ने मिर्गौला रोग विशेषज्ञको भनाइ छ ।

मिर्गौलाको क्रियटिनिनको मात्रा पनि सामान्यभन्दा केही बढी देखिएको अर्का निजी चिकित्सक डा. शर्माले जानकारी दिए । क्रियटिनिनको मात्रा सामान्य अवस्था १.५ भन्दा बढी अर्थात् २ को हाराहारीमा छ । ‘मिर्गौलाले काम गर्न छोड्दैछ भन्नका लागि क्रियटिनिनलाई मात्र एउटा आधार बनाएर हुँदैन । मिर्गौलाले काम गर्न छोडेको अवस्थामा धेरै आधार पनि जोडिएका हुन्छन्,’ डा. शर्माले भने ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार दुईवटा कारणले क्रियटिनिन बढ्छ । एउटा तत्काल कोष बढेर देखिने समस्या (सेलुलर रिजेक्सन) र दोस्रो, एन्टिबडी बढेर पनि समस्या हुन्छ ।

प्रधानमन्त्री ओलीलाई एन्टिबडी बढेर समस्या भएको हो । ‘एन्टिबडी बढेर भएको रिजेक्सन खतरनाक हो । तत्काल कुनै साधारण औषधिले ठिक हुन सक्दैन । क्रियटिनिन नर्मलबाट बढ्नु भनेको मिर्गौलाको कार्यक्षमता घटेको हो’, डा. काफ्लेले भने । उपचार गरेर क्रियटिनिनलाई सामान्य अवस्थामा फर्काउन सके मिर्गौलाले दस वर्ष काम गर्न सक्ने डा. काफ्लेले बताए ।

प्रधानमन्त्री ओलीमा देखिएको एन्टिबडीको मात्रा घटाउन सके मिर्गौला बिग्रने क्रम तीव्र नभई सुस्त गतिमा हुने डा. काफ्लेको भनाइ छ । अब गरिने उपचारबाट मिर्गौलाको स्थितिबारे प्रस्ट हुन सकिने चिकित्सकहरूले बताए । उपचारपछि एन्टिबडीको लेभल घट्छ–घट्दैन र क्रियटिनिन नर्मल लेभलमा आउँछ–आउँदैन भन्ने परीक्षणले नै धेरै कुरा निर्धारण हुने डा. काफ्लेको भनाइ छ ।

अत्याधुनिक प्रविधिको उपचारबाट स्वास्थ्यलाभ हुन सक्ने डा. काफ्लेले बताए । प्रधानमन्त्री ओलीको उपचारमा कुनै पनि कसर बाँकी नराख्न सिंगापुर जान सल्लाह दिइएको निजी चिकित्सक डा. शर्माको भनाइ छ ।

सूक्ष्म परीक्षण गरिने

निजी चिकित्सक डा.शर्माका अनुसार प्रधानमन्त्री ओलीले सेवन गरिरहेको औषधिको प्रभाव र मिर्गौलाको अवस्थाबारे सूक्ष्म परीक्षण हुनेछ । उनले भने, ‘मिर्गौलाको थप परीक्षण र उपचारका क्रममा देखिने प्रभावको सूक्ष्म अध्ययन विज्ञहरूले गर्नेछन् ।’

सिंगापुरमा रहँदा शरीरले निष्कासन गरेका विभिन्न एन्टिबडीको जाँच गरिनेछ । नयाँ प्रविधि भएको र उपचारमा पनि नाम कमाएका कारण सिंगापुर जानुपरेको डा.शर्माले बताए ।

नेसनल युनिभर्सिटी अस्पतालका विज्ञ चिकित्सक र डा. शाहसहितको टोलीले मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचारसमेत गर्ने जनाइएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बिग्रँदासमेत गुपचुप राखिएको भन्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले आपत्ति जनाएका छन् । राजधानीमा बिहीबार आयोजित साक्षात्कारमा उनले भने, ‘राष्ट्रको ढुकुटी खर्च गरी उपचार गराएपछि सबै जानकारी दिनुपर्छ । जनतालाई ढाँट्दा प्रश्न उठ्छ ।’

नेपालको मेडिकल बोर्डको सिफारिसमा मात्र थप उपचार गर्न विदेश जानुपर्नेमा निजी चिकित्सकको सल्लाहअनुसार प्रधानमन्त्री उपचारका लागि सिंगापुर गएकोमा उनले आपत्ति जनाए ।

गोप्य राखिएको प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे निजी चिकित्सक डा। शाहले सिंगापुर प्रस्थान गर्नुअघि मात्र जानकारी गराएकी थिइन् । सिंगापुरमा रहँदा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भए मिडियामार्फत सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।