काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले राजनीति र लोकतन्त्रको सार्थकता जनताको जीवनस्तर सुधार, राष्ट्रको सुरक्षा र प्रतिष्ठासँग जोडिएको बताउनुभएको छ ।
काठमाडौंको खुलामञ्चमा आइतबारदेखि सुरु भएको कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रका नाममा प्राप्त अवसरभन्दा जनताका समस्याको समाधानलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
महामन्त्री घिमिरेले लामो समयदेखि विभिन्न राजनीतिक दलहरूले देशको नेतृत्व गरे पनि जनतामा रहेको निराशा चिर्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको सपना स्मरण गर्दै देशलाई समुन्नत र नेपाली जनतालाई सुखी बनाउनु पार्टीको मुख्य उद्देश्य हुनुपर्नेमा जोड दिनुभयो ।
घिमिरेले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई साक्षी राख्दै राजनीतिको केन्द्रमा राष्ट्र र जनतालाई राखेर अघि बढ्न आग्रह गर्नुभयो ।
उहाँले राजनीतिको सार्थकता जनताको समुन्नत जीवन, राष्ट्रको सुरक्षा, राष्ट्रको प्रतिष्ठा तथा छिमेकी मित्रराष्ट्रहरूसँगको सुमधुर सम्बन्धमा निहित रहेको बताउनुभयो । लोकतन्त्रको सार्थकता जनताको सहभागिता, सम्मान र समुन्नतिमा हुने उहाँको भनाइ थियो ।
‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्नु नै वास्तवमा लोकतन्त्रको सार हो,’ उहाँले भन्नुभयो ।
महामन्त्री घिमिरेले अहिले लोकतन्त्र सही बाटोमा हिँडिरहेको छ कि छैन र राजनीति सार्थक भइरहेको छ कि छैन भन्ने प्रश्न उठिरहेको बताउँदै ती प्रश्नको जवाफ खोज्ने दायित्व सबै राजनीतिक दल र नेताको भएको उल्लेख गर्नुभयो ।
उहाँले कांग्रेसको १५औँ महाधिवेशनले नेतृत्वमा पुस्तान्तरणको प्रक्रियालाई सार्थकता दिने विश्वास व्यक्त गर्नुभयो । शहीदहरूको बलिदान र विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै आम नागरिकको भावनाअनुसार पार्टीलाई अघि बढाउनु अहिलेको चुनौती रहेको उहाँले बताउनुभयो ।
घिमिरेले लोकतन्त्रको सार अन्तिम पंक्तिमा रहेको नागरिकको जीवनमा परिवर्तन ल्याउनु रहेको दोहोर्याउँदै महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई नयाँ संकल्पका साथ अघि बढ्न आह्वान गर्नुभयो ।








