काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार्य नहुने बताएका छन् ।
काठमाडौंको खुलामञ्चमा आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै भण्डारीले मुलुक गम्भीर आर्थिक, सामाजिक तथा भू–राजनीतिक संक्रमणबाट गुज्रिरहेको बताएका हुन् ।
उनले प्राकृतिक विपद्, आर्थिक मन्दी, बढ्दो बेरोजगारी तथा युवाको तीव्र विदेश पलायनले मुलुक आक्रान्त बनेको उल्लेख गर्दै वर्तमान चुनौती सामना गर्न प्रमुख राजनीतिक दलहरूबीच सहकार्य र राष्ट्रिय एकता आवश्यक रहेको बताए । गत महिना भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति उनले दुःख व्यक्त गरे ।
भण्डारीले वर्तमान संविधानलाई आवश्यकता र समयअनुसार संशोधन तथा परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप समावेशी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । संविधान संशोधन र समावेशी राज्य निर्माणका लागि जसपा नेपालले अघि बढाएको अभियानमा नेपाली कांग्रेसको बलियो साथ र समर्थन रहने विश्वाससमेत उनले व्यक्त गरे ।
‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन । नेपाली जनताले लोकतन्त्रको कुनै पनि संकुचन स्वीकार गर्ने छैनन्,’ उनले भने, ‘लोकतन्त्र, संघीयता, समावेशिता, सामाजिक न्याय र जनअधिकारको संरक्षणका लागि राजनीतिक दलहरूबीचको सहकार्य र एकतालाई अझ मजबुत बनाउन आवश्यक छ ।’
बदलिँदो संवेदनशील भू–राजनीतिक परिवेशमा नेपालले सन्तुलित कूटनीति अवलम्बन गरेर मात्रै राष्ट्रिय हितको रक्षा गर्न सक्ने उनको भनाइ थियो । लोकतन्त्र, संघीयता, सामाजिक न्याय र जनअधिकारमा कुनै किसिमको संकुचन हुन नदिन राजनीतिक दल र नागरिक समाज सबै सचेत रहनुपर्नेमा पनि भण्डारीले जोड दिए।