काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक रेशमलाल चौधरीले गणतन्त्र प्राप्तिसँगै थारू समुदायको पहिचान र धार्मिक आस्थामाथि प्रश्न उठेको भन्दै आपत्ति जनाउनुभएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार काठमाडौंको खुलामञ्चमा सम्बोधन गर्दै चौधरीले संविधानमा अधिकार सुनिश्चित गरिए पनि त्यसको कार्यान्वयन पक्ष कमजोर रहेको बताउनुभयो।
उहाँले १९ दिने जनआन्दोलनमा थारू समुदाय पनि सहभागी भएको स्मरण गर्दै गणतन्त्र स्थापनाका लागि आफूहरूले लाठी र पानीका फोहरा खाएको बताउनुभयो। तर गणतन्त्र आएपछि पहिचान र धर्मसँग सम्झौता हुन नसक्ने उहाँको भनाइ थियो।

‘गणतन्त्रसँगै मेरो धर्म र पहिचान किन साटियो ? हाम्रो पहिचानसँग कुनै पनि कुराको साटफेर गर्न पाइँदैन,’ चौधरीले भन्नुभयो, ‘हाम्रो दशैँको जमरा, हाम्रा दिदीबहिनीले लगाउने टीका र सप्तरङ्गी मालासँग हामी कुनै पनि कुरा साटफेर गर्न तयार छैनौँ। हाम्रो धर्म, संस्कृति र पहिचान हाम्रो अस्तित्वसँग जोडिएका विषय हुन्।’
चौधरीले थारू समुदायको जनसंख्या ६–७ प्रतिशत रहे पनि राज्यका निर्णायक तहमा पर्याप्त प्रतिनिधित्व हुन नसकेको गुनासो गर्नुभयो। उहाँले प्रधानन्यायाधीश, प्रधानसेनापति र मुख्यसचिवजस्ता उच्च पदमा थारू समुदायको प्रतिनिधित्व कहिले हुने भन्दै कांग्रेस नेतृत्वसँग प्रश्न गर्नुभयो।
उहाँले नेपाली कांग्रेसले संविधान निर्माण तथा कमैया मुक्ति अभियानमा खेलेको भूमिकाको प्रशंसा गर्दै संविधानमा लेखिएका अधिकार व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो।
चौधरीले टीकापुरलाई जिल्ला बनाउनुपर्ने पुरानो मागसमेत पुनः उठाउनुभयो।







