काठमाडौं । सुर्खेतको चौकुने गाउँपालिका–६ मा मदिराको झोकमा श्रीमानले श्रीमतीको हत्या गरेको घटनाप्रति प्रतिनिधि सभामा चासो व्यक्त गरिएको छ ।
बुधबारको प्रतिनिधि सभा बैठकमा नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले श्रीमानको आक्रमणबाट श्रीमतीको हत्या हुनुका साथै दुई छोरी गम्भीर घाइते भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
सांसद विकका अनुसार सुर्खेतका गोपीराम जैसीले मदिरा सेवन गर्न पैसा नपाएको निहुँमा आफ्नी श्रीमती चन्द्रकला देवकोटा जैसीमाथि फरुवा प्रहार गरी हत्या गरेका हुन् । आक्रमणबाट दम्पतीका दुई छोरी गम्भीर घाइते भएका छन् भने एक छोरा भने ज्यान जोगाउन सफल भएका छन् ।
स्थानीय प्रहरीले समयमै उद्धार गरेपछि घाइते बालिकाको ज्यान जोगिए पनि उनीहरूको अवस्था चिन्ताजनक रहेको सांसद विकले बताउनुभयो । उहाँले घाइते बालिकाको राज्यका तर्फबाट निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
महिलामाथि भइरहेको हिंसा र असुरक्षाका घटनाप्रति आक्रोश व्यक्त गर्दै सांसद विकले समाजमा सहज रूपमा उपलब्ध घरेलु मदिरा र लागुऔषध नियन्त्रणमा सरकारले ठोस कदम चाल्नुपर्ने बताउनुभयो ।
उहाँले गाउँघरमा निर्वाध रूपमा बिक्री तथा सेवन हुने घरेलु जाँडरक्सीका कारण हिंसा र आपराधिक घटना बढिरहेको भन्दै ठूला ब्रान्डका मदिरामा मात्र नियमन केन्द्रित नगर्न सरकारलाई आग्रह गर्नुभयो ।
‘कहिले हस्पिटलमा पैसा तिर्न नसकेर सडकमा बच्चा जन्माउनुपर्ने त कहिले श्रीमानको इच्छा पूरा गर्न नसक्दा जिउँदै जल्नुपर्ने अवस्था कहिलेसम्म ? महिलाहरूले यस्तो यातना भोग्नु परेको कहिलेसम्म हो ?’ उहाँले प्रश्न गर्नुभयो ।
मदिरा सेवन गरी सार्वजनिक स्थानमा असुरक्षा सिर्जना गर्ने व्यक्तिमाथि कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने भन्दै सांसद विकले समाजलाई असुरक्षित बनाउने प्रवृत्ति नियन्त्रणमा सरकार सक्रिय हुनुपर्ने बताउनुभयो ।
उहाँले घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाही गरी पीडित परिवारलाई न्याय दिलाउन तथा घाइते दुई बालिकाको उपचार र संरक्षणको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो ।








