७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित

पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव

पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव
अ+ अ-

काठमाडौं । नेपालमा पठन संस्कृति क्रमशः कमजोर हुँदै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको पुस्तकालय नीति मस्यौदामाथिको छलफलमा विज्ञ तथा सरोकारवालाले पठन संस्कृतिलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

छलफलमा सहभागी विज्ञहरूले पुस्तकालयलाई केवल पुस्तक राख्ने स्थानका रूपमा नभई शिक्षा, सूचना, नागरिक सहभागिता तथा स्थानीय ज्ञान हस्तान्तरणको केन्द्रका रूपमा विकास गर्नुपर्ने सुझाव दिएका छन् ।

विज्ञ डा. हरि लम्सालले मोबाइलको बढ्दो प्रयोगका कारण पठन संस्कृतिमा कमी आएको बताउँदै यसलाई सुधार गर्न सरकारले पठन संस्कृतिको विकासलाई अभियानका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । विद्यालय तहदेखि नै पठन संस्कृतिको विकासलाई नीतिको प्रमुख प्राथमिकतामा राख्नुपर्ने उहाँको सुझाव छ ।

सामुदायिक पुस्तकालयलाई विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रसँग जोडेर विस्तार गर्नुपर्ने बताउँदै उहाँले स्रोतसाधन सीमित भएका विद्यालयमा प्रयोगविहीन रहेका कोठालाई स्थानीय पुस्तकालयका रूपमा उपयोग गर्न सकिने धारणा राख्नुभयो । समान पहुँच र अवसर विस्तारका लागि सामुदायिक अध्ययन केन्द्र र पुस्तकालयबीच समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो ।

नागरिक सहभागिता बढाउन पुस्तकालयमा सदस्यता प्रणाली विकास गर्नुपर्ने सुझाव दिँदै डा. लम्सालले समुदायका विभिन्न व्यक्तिलाई मानार्थ सदस्यता दिने तथा पुस्तकालयप्रति नागरिकको अपनत्व बढाउने व्यवस्था गर्न सकिने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग प्रमुख डा. लिला न्याइच्याइले पुस्तकालय सञ्चालनमा स्रोत व्यवस्थापन र दिगोपनाको विषयलाई नीतिमै समेट्नुपर्ने बताउनुभयो । पुस्तकालयका केही सेवामा आवश्यकताअनुसार शुल्क लिन सकिने भन्दै उहाँले पुस्तक खरिददेखि पुस्तकालयसम्म पुर्‍याउँदासम्म लाग्ने वास्तविक लागतलाई नीति निर्माणका क्रममा ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपालमा बसोवास गर्ने विभिन्न समुदायका भाषा तथा साहित्यलाई पुस्तकालयको संग्रहमा प्राथमिकता दिनुपर्ने उहाँको सुझाव छ । नेपाली र अंग्रेजी भाषाका सामग्रीमा मात्र पुस्तकालयको संग्रह सीमित हुँदा अन्य भाषाका साहित्य संरक्षणमा समस्या पर्ने भन्दै उहाँले ब्रेल, अडियोबुक, सांकेतिक भाषा तथा विभिन्न मातृभाषाका सामग्री समावेश गर्ने व्यवस्था नीतिमा गर्नुपर्ने बताउनुभयो ।

नेपाल पुस्तकालय संघका अध्यक्ष पुष्पराज सुवेदीले प्रस्तावित नीतिमा पुस्तकालयको स्पष्ट वर्गीकरण र भूमिका निर्धारण गर्नुपर्ने बताउनुभयो । शैक्षिक, सार्वजनिक तथा सामुदायिक पुस्तकालयको प्रकृति र जिम्मेवारी फरक हुने भएकाले सोहीअनुसार कानुनी तथा संस्थागत व्यवस्था आवश्यक रहेको उहाँको भनाइ छ ।

पुस्तकालय क्षेत्रको दर्ता, नियमन, मापदण्ड निर्धारण तथा जनशक्तिको योग्यता र सेवासुविधाका लागि पुस्तकालय परिषद् गठन गर्नुपर्ने उहाँले बताउनुभयो । परिषद्ले विभिन्न प्रकारका पुस्तकालयको मापदण्ड निर्धारण गर्ने, जनशक्तिको स्तर तथा संरचना तोक्ने र नियमित अनुगमन तथा मूल्याङ्कन गर्ने व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ ।

हाल शिक्षा मन्त्रालयअन्तर्गत रहेको पुस्तकालयसम्बन्धी संयन्त्र प्रभावकारी रूपमा परिचालन हुन नसकेको भन्दै सुवेदीले नियमनकारी अधिकारसहितको संस्थागत संरचना आवश्यक रहेको बताउनुभयो ।

सामुदायिक पुस्तकालय संघका महासचिव राजेन्द्रप्रसाद पाण्डेले नीति तथा कानुन निर्माणका क्रममा देशभरका सामुदायिक पुस्तकालयको वास्तविक अवस्था र सरोकारवालाको अनुभवलाई पर्याप्त रूपमा समेट्नुपर्ने बताउनुभयो । सातै प्रदेशमा पुस्तकालय क्षेत्रसँग सम्बन्धित छलफलबाट प्राप्त सुझाव तथा घोषणापत्रलाई नीतिमा समेट्न उहाँले आग्रह गर्नुभयो ।

समुदायले आफ्नै पहलमा लामो समयदेखि पुस्तकालय सञ्चालन गरिरहेको उल्लेख गर्दै पाण्डेले राज्यका कार्यक्रम तथा स्रोत वितरणमा पारदर्शिता, प्रभावकारिता र नियमित अनुगमन आवश्यक रहेको बताउनुभयो । सामुदायिक सिकाइ केन्द्र (सीएलसी) र सामुदायिक पुस्तकालयबीच प्रभावकारी समन्वय गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

राम्ररी सञ्चालन भइरहेका सामुदायिक सिकाइ केन्द्रको स्रोत र संरचनालाई पुस्तकालय विकासमा उपयोग गर्न सकिने उहाँको भनाइ छ । पुस्तकालय क्षेत्रमा आवश्यक जनशक्ति र विद्यमान सामुदायिक संरचनाबीच समन्वय गर्न सके सेवा विस्तार गर्न सहज हुने उहाँले बताउनुभयो ।

समिति सभापति पुजा चौधरीले विज्ञ तथा सरोकारवालाबाट प्राप्त सुझावका आधारमा पुस्तकालय नीति तयार गरिने बताउनुभयो । सबै पक्षका सुझावलाई समेटेर समितिमा थप गहन छलफल गरी प्रभावकारी नीति निर्माण गरिने उहाँले बताउनुभयो ।