काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले हामी आफैं केही बनाउन सक्दैनौं भने अरुले बनाएका संरचना विनाश नगरेर भए पनि सहयोग गर्न आग्रह गर्नुभएको छ ।
सोमबार साँझ सामाजिक संञ्जालमा एक स्टाटस राख्दै धितालले भाटभटेनीलगायत सबै निजी क्षेत्रका संस्थाहरुलाई छिटो उठाउन, मनोबल बढाउन राज्यले मात्रै मेहनत गरेर नपुग्ने भन्दै सबै पार्टीहरु, नागरिक समाज आदिले पनि साथ दिनुपर्छ । आइन्दा यसरी क्षति पुर्याउने काम नहोस् भन्नु भएको छ ।
उहाँले लेख्नुभएको छ –
अचेल आन्दोलनहरुमा निजी क्षेत्रका प्रतिष्ठान, व्यापारिक केन्द्रहरु निशानामा पर्न थालेका छन् । भाटभटेनी सुपरमार्केटका ११ वटा स्टोरहरु पोहोर जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेका थिए ।
कप्तानगन्जमा गत महिना तनाव सुरु हुँदा सिरहाको गोलबजारमा पनि व्यापारिक प्रतिष्ठानहरुमा क्षति पुर्याइयो ।असन्तुष्ट नागरिकहरुले शान्तिपूर्ण मागहरु राख्नु लोकतान्त्रिक अधिकार हो । हामी यस्तो अधिकार सुनिश्चित हुनुपर्छ भन्ने पक्षमा छौं । उहाँहरुको आवाजको न्यायोचित सुनुवाई हुनु पनि पर्छ ।
तर सार्वजनिक सम्पत्ति, व्यक्तिका घर, व्यावसायिक प्रतिष्ठानमा आक्रमण जायज होइन ।एक वर्षपछि भाटभटेनीले फेरि बौरिने संकल्प गरेको छ । पोहोर आक्रमणमा परेकामध्ये १० सुपरस्टोरहरु आजदेखि फेरि सन्चालनमा आए भन्ने खबरले खुसी दिएको छ । पसलहरु पसलेका मात्रै होइनन्, त्यहाँ काम गर्ने कर्मचारी मजदुर सबैका हुन् । उपभोक्ता र नागरिकका पनि हुन् ।
भाटभटेनीलगायत सबै निजी क्षेत्रका संस्थाहरुलाई छिटो उठाउन, मनोबल बढाउन राज्यले मात्रै मेहनत गरेर पुग्दैन । सबै पार्टीहरु, नागरिक समाज आदिले पनि साथ दिनुपर्छ । आइन्दा यसरी क्षति पुर्याउने काम नहोस् ।
हामी आफैं केही बनाउन सक्दैनौं भने अरुले बनाएका संरचना विनाश नगरेर भए पनि सहयोग गरौं ।
तस्बिर : नेपाल फोटो सर्भिस








