१८ भाद्र २०८३, बिहीबार
,
Latest
सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले रसुवा बाढीपछि सरकारले सञ्चालन गरेको खोज, उद्धार तथा राहत कार्यप्रति सन्तोष व्यक्त गरेको छ ।

मंगलबार करिब तीन घण्टा बसेको सचिवालय बैठकले विपद्को यस घडीमा तीनै तहका सरकारलाई आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको हो । बैठकमा पार्टीका उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारका तर्फबाट हालसम्म भएका काम तथा आगामी योजनाबारे जानकारी गराउनुभएको थियो ।

अर्थमन्त्री वाग्लेका अनुसार सरकारले खोज, उद्धार र राहतलाई तीव्रता दिँदै अब पुनःस्थापनाको काम अघि बढाउने तयारी गरेको छ । उहाँले सरकारी कोषमा हालसम्म करिब ८ अर्ब रुपैयाँ सहयोग संकलन भएको र त्यसमध्ये १ अर्ब रुपैयाँभन्दा बढी रकम विपद् व्यवस्थापन प्राधिकरणलाई पठाइएको जानकारी दिनुभयो । प्रभावित पालिकाहरूमा ६ करोड रुपैयाँभन्दा बढी रकम पठाइसकिएको पनि उहाँले बताउनुभयो ।

रास्वपा सचिवालयले सीमित स्रोत–साधनका बाबजुद सरकारले खोज तथा उद्धारमा देखाएको तदारुकता र नेतृत्वदायी भूमिकाको सराहना गर्दै धन्यवाद ज्ञापन गरेको छ । साथै, राहत वितरणलाई थप प्रभावकारी बनाउन र प्रभावित क्षेत्रमा राहत सामग्री छिटो पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकले सम्पर्कविहीन तथा हराइरहेका नागरिकको खोजी कार्यलाई निरन्तरता दिनुका साथै उद्धार अभियानलाई थप व्यवस्थित बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार पार्टीले दाताहरूबाट प्राप्त राहत सामग्री सरकारी संकलन केन्द्रमार्फत नै वितरण गर्ने नीति लिएको छ । पार्टीले हालसम्म प्राप्त सहयोग सामग्री सरकारी संयन्त्रलाई हस्तान्तरण गर्दै आएको र आगामी दिनमा पनि यही प्रक्रियालाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

बैठकमा पार्टी सभापति रवि लामिछानेले हालै सम्पन्न सर्वदलीय बैठकमा भएका छलफल र निष्कर्षबारे सचिवालयलाई जानकारी गराउनुभएको थियो । सर्वदलीय बैठकमा व्यक्त राजनीतिक प्रतिबद्धताप्रति खुशी व्यक्त गर्दै लामिछानेले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि दीर्घकालीन राष्ट्रिय सहमति आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

रास्वपा सचिवालयले पनि उक्त प्रस्तावलाई आत्मसात गर्दै विपद्को सामना गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिएको छ ।