काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बिहीवारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरूले बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतको गति बढाउन, स्वास्थ्य सेवा प्रभावकारी बनाउन र अवरुद्ध सडक तथा पूर्वाधार तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले बाढीमा आफ्ना आफन्तसमेत बेपत्ता भएको उल्लेख गर्दै खोजी कार्यलाई तीव्रता दिन माग गर्नुभयो । उहाँले सडक दुर्घटना न्यूनीकरण तथा छाडा पशुचौपायाको व्यवस्थापनमा समेत सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
रास्वपाकी सांसद ओजश्वी शेरचनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित भएकाले महामारी फैलिनुअघि नै अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न माग गर्नुभयो । उहाँका अनुसार रसुवाको स्याफ्रुबेँसी, टिमुरे हेल्थ पोस्ट, टिमुरे हेल्थ डेस्क र मैलुङ स्वास्थ्य इकाई पूर्ण रूपमा ध्वस्त भएका छन् । धादिङ र त्रिशूली अस्पतालसमेत प्रभावित भएकाले प्रभावित क्षेत्रमा स्वास्थ्य परीक्षण तथा स्क्रिनिङको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।
रास्वपाका सांसद बुद्धिप्रसाद पन्तले आफ्नो निर्वाचन क्षेत्र तथा पर्साबाट समेत सयौँ नागरिक बेपत्ता भएको बताउँदै उद्धार कार्यमा स्रोतसाधन र जनशक्तिको अभाव देखिएको बताउनुभयो । सम्पर्कविहीन नागरिकका परिवारजन अझै ‘सास वा लाश’को आशामा आफन्तको प्रतीक्षामा रहेको उल्लेख गर्दै उहाँले उद्धारमा थप तदारुकता देखाउन सरकारसँग आग्रह गर्नुभयो ।
त्यस्तै, रास्वपाका सांसद बुद्धरत्न महर्जनले गोसाइँकुण्ड तीर्थयात्रामा गएका ललितपुरसहित देशभरका नागरिकको यथाशीघ्र खोजी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण नाका बन्द भए वा आपूर्ति व्यवस्थामा चाप बढे दैनिक उपभोग्य वस्तुको अभाव, कालोबजारी र मूल्यवृद्धि हुनसक्ने भन्दै उहाँले आपूर्ति व्यवस्थापनमा समेत सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद बलवती शर्माले बाढीले नागरिक र भौतिक संरचनासँगै हजारौँ सपना बगाएको बताउनुभयो । उहाँले बाग्लुङबाट समेत १६ जना सम्पर्कविहीन भएको जानकारी दिँदै रसुवा, नुवाकोट र धादिङको पीडा समग्र नेपाल र नेपालीको पीडा भएको बताउनुभयो ।
सांसद शर्माले सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि आवश्यक मेसिन संसारभर नरहेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति समेत प्रश्न उठाउनुभयो । आधुनिक विज्ञानले अन्तरिक्षसम्म पहुँच बनाइसकेको अवस्थामा सुरुङमा फसेका नागरिकको उद्धार गर्ने मेसिन नै संसारभर नरहेको भनाइ उचित नभएको उहाँको टिप्पणी थियो ।
अधिकांश सांसदहरूले बाढीपछिको विपद् प्रतिकार्यमा सरकारले थप गति दिनुपर्ने बताएका छन् । उनीहरूले बाढीका कारण सम्पर्कविच्छेद भएका राजमार्ग तथा सडकको पुनर्निर्माणलाई प्राथमिकता दिँदै तत्काल वैकल्पिक मार्गको व्यवस्था गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।









