२२ भाद्र २०८३, सोमबार
,
Latest
एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडाध्यक्षद्वारा आफूखुशी झोलुङ्गे पुल बिक्री



अ+ अ-

विदुर । नुवकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन् । विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीलाई देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरेको आरोप लगाइएको छ ।

विसं २०२१ मा निर्माण भएको सो पुललाई स्थानीय तहका जनप्रतिनिधिले संरक्षण गर्नुको साटो उल्टै बेच्दा पनि वडाका आम नागरिकलाई केही थाहा नदिएको स्थानीयवासी बताउँछन् । पुराना सम्पदा बेच्दा सार्वजनिकरुपमा निर्णय नगराई बेची दिँदा देवीघाटका स्थानीयवासी दुखित बनेका छन् । कबाडीलाई शुरुमा रु तीन लाखमा बेच्ने हल्ला भएको र पछि रु ७० हजारमा मात्र बेचिएको थाहा भएको देवीघाट जाल्पा क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सुरथबहादुर चित्रकारले बताए ।

उनले भने,“पञ्चायत कालमा निकै मिहेनत गरेर पुलको निर्माण गरिएको हो । पछि त्यही पुलसँगै अर्को पक्की पुल निर्माण भएपछि साना ठूला गाडी पक्की पुलबाट र पैदल यात्रु झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरेका थिए ।’’ बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीले पुल कहाँ कसरी बेचियो भन्ने कुरा आफूलाई थाहा नभएको र रु ३५ हजार भने विदुर नगरपालिका–५ का वडाध्यक्षले तपाईको भाग भनेर पठाएको जानकारी दिए ।

उनले बेलकोटगढी नपा–८ र विदुर नपा–५ को सिमानामा रहेको झोलुङ्गे पुल बेच्ने कुनै लिखित निर्णय नभएको बताए । त्यस्तै विदुरनगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकारले सो पुल आफूले मात्र नभई बेलकोटगढी नपा–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीसँगको समन्वयमा नै बिक्री गरेको दाबी गरे ।

गल्छी–त्रिशूली सडक आयोजनाले सडक बनाउँदा पुललाई लथालिङ्ग पारेर छाडेको तथा पुरानो प्रयोगविहीन रहेकाले कवाडीलाई बेचिदिएका हौँ”, उनले भने, “कबाडीलाई रु ७० हजारमा बेची रु ३५–३५ हजार दुवै वडाले बाढेर लिएका थियौँ ।” यता गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेँसी, रसुवागढी सडक आयोजना कार्यालयले भने सडक बनाउँदा पुललाई छुँदासमेत नछोई सडकको काम गरेको जनाएको छ ।

विदुर नगरपालिका कार्यालय प्रमुख सञ्जु पण्डित र बेलकोटगढी नगरपालिका कार्यालय प्रमुख राजेन्द्ररमण खनालले आफ्नो नगरमा भएको पुरानो पुल बेचिँदा वडाध्यक्षहरुले नगरपालिकामा कुनै लिखित सूचना नदिएको बताए ।