१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशसभामा सांसदलाई छोरीको चिन्ता, छोरी बचाउनतिर लाग्न मुख्यमन्त्रीलाई आग्रह



अ+ अ-

जनकपुर । समाजवादी पार्टीकी प्रदेश सांसद सांसद करिमा बेगमले छोरी असुरक्षित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । शनिबार प्रदेश नं.२ को प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बेगमले छोरी घरबाट निस्किन्छिन् तर सकुशल घर फर्किने वा नफर्किने ठेगान नभएकोले यस्तो हुनु दुर्भाग्यपूर्ण भएको बताइन् ।

‘विद्यालय गएकी छोरी घर फर्किन्छ कि फर्किन्न अभिभावकमा चिन्ता छ’, सांसद बेगमले भनिन्, ‘पढ्न जाँदै गर्दा छोरीमाथि पटक पटक एसिड प्रहार भएको छ । छोरी कसरी सुरक्षित हुन्छ ?’

शुक्रबार बिहान विद्यालय जाँदै गरेकी कक्षा ९ मा अध्ययनरत वीरगन्जकी १५ वर्षीया छात्रा मुस्कानमाथि एसीड प्रहारको घटनाले प्रदेशकी छोरी सुरक्षित नभएको प्रस्टिएको उनले बताइन् । सांसद बेगमले दोषीलाई कडा कारबाहीको माग गर्दै मुस्कानलाई उपचारका लागि थप रकम उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरिन् । उनले मुख्यमन्त्रीको ‘बेटी पढाउ, बेटी बचाउ अभियानले’ छोरी सुरक्षित नभएकोले छोरी सुरक्षाका लागि कडा कानुन ल्याउनुपर्ने माग राखिन् ।

समाजवादी पार्टीकी अर्की सांसद भिमा यादवले प्रदेश सरकारले चलाएको बेटी पढाउ बेटी बचाउन अभियान सफल हुने वा असफल हुने भन्दै आशंका व्यक्त गरिन् । प्रदेशमा कहींकतै छोरी सुरक्षित नभएको भन्दै सरकारले छोरीमैत्री कानुन बनाउन आग्रह गरिन् ।

यस्तै प्रदेश सदस्यहरुले मुख्यमन्त्री लालबाबु राउतलाई छोरी पढाउनुभन्दा पहिले बचाउनतिर लाग्न आग्रह गरे । प्रदेशसभाको शून्य समयमा बोल्दै राजपा सांसद गणेशप्रसाद कुर्मीले प्रदेशमा छोरीहरुप्रति पटक पटक आक्रमण हुने गरेको भन्दै प्रदेश सरकारको अनुभूति नै नभएको टिप्पणी गरे । ‘बेटी पढाएरमात्र हुँदैन पहिले बेटी बचाउनुस् । दोषीलाई फाँसीको सजाय पनि कम हो । कडा कारबाही हुनुपर्छ,’ सांसद कुर्मीले भने ।