नयाँ दिल्लीः चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पु¥याउने चन्द्रयान — २ मिशनको एउटा यान विक्रम ल्यान्डरसम्पर्क विच्छेद भएको छ ।
सबै काम राम्रैसँग भइरहेका बेला सतहमा पुग्नु केही बेरअघि नै ल्यान्डरसँग सम्पर्क विच्छेद भएको ‘इन्डीयन स्पेस रिसर्च अर्गनाईजेसन’ (इसरो)का प्रमुख के. सिभनले बताउनुभयो ।
उहाँले शनिबार दिएको जानकारी अनुसार शुक्रबारराति साढे १ बजे भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)का वैज्ञानिकहरूले चन्द्रयान—२ को विक्रम ल्यान्डरलाई चन्द्रमाको सतहतर्फ लगिरहेका थिए ।
इसरोको चन्द्रयान २ का लागि चन्द्रमाको दक्षिणी ध्रुव रोजिएको थियो, जहाँ विक्रम ल्यान्डरको सफ्ट ल्यान्डिङ भनिने नियन्त्रित अवतरण गर्नुथियो ।
तर अवतरण नहुदै भारतको समय अनुसार राती १.५५ मा यान सम्पर्क विहिन भएको सिभनको भनाई छ । यही कामका लागि अरु देशले धेरै खर्च गर्ने गरेकोमा भारतमा भने अहिले १५ करोड अमेरिकी डलर लगानी गरिएको थियो ।
यसअघि सन् २००८ मा भारतले नै प्रक्षेपण गरेको चन्द्रयान—१ ले चन्द्रमाको सुख्खा सतहमा पानीका अणुहरू रहेको तथ्य पत्ता लगाएको थियो । योजना अनुरुप अवतरणतर्फ लागिरहेका बेला भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धि हेर्न र उनीहरूको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी पनि बेङ्गलुरुस्थित इसरो मुख्यालय पुग्नु भएको थियो ।
उहाँले भारतीय बैज्ञानिकहरुको अहिलेसम्मको कामप्रति गौरब गर्दै सम्पर्कविहिन भएको यान सम्पर्कमा आउने विश्वास पनि ट्वीटरमार्फत् व्यक्त गर्नुभएको छ ।