काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन तथा पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) र टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)बीच सहकार्य हुने भएको छ ।
टिवानले आज काठमाडौंमा आयोजना गरेको ‘नाट्टाको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना’ कार्यक्रममा नाट्टाका नवनिर्वाचित अध्यक्ष भरतजङ्ग पाण्डेले पर्यटन क्षेत्रको विकास र साझा समस्या समाधानका लागि टिवानसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले टिवान नाट्टाको अभिन्न अङ्ग भएकाले दुवै संस्थाका समस्या र एजेन्डा साझा रहेको बताउनुभयो । “टिवान छुट्टै संस्था नभई हाम्रो आफ्नै परिवार हो । पर्यटन क्षेत्रका हरेक एजेन्डामा हामी एक भएर अगाडि बढ्नेछौँ,” अध्यक्ष पाण्डेले भन्नुभयो ।
कार्यक्रममा टिवानका संस्थापक अध्यक्ष श्रीकान्त आचार्यले पर्यटक बस तथा समग्र पर्यटन उद्योगले विभिन्न समस्या भोगिरहेको भन्दै तिनको समाधानका लागि नवनिर्वाचित कार्यसमिति सक्रियतापूर्वक लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
नाट्टाका महासचिव राजकुमार देवकोटाले पर्यटक बसपार्कको समस्या टिवानको मात्र नभई समग्र पर्यटन क्षेत्रको समस्या भएको बताउनुभयो । उहाँले यसको दीर्घकालीन समाधानका लागि नाट्टाले प्रतिबद्ध भएर काम गर्ने धारणा राख्नुभयो ।
त्यस्तै, टिवानका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले व्यवस्थित पर्यटक बसपार्क नहुँदा व्यवसायीले ठूलो समस्या भोग्नुपरेको बताउँदै यसको समाधानका लागि नाट्टासँग सहकार्य गरिने जानकारी दिनुभयो ।
पर्यटक बस व्यवसायीको हकहित र अधिकारको संरक्षणका लागि स्थापना भएको टिवानले हाल काठमाडौंको सोह्रखुट्टे सडकलाई अस्थायी बसपार्कका रूपमा प्रयोग गर्दै आएको छ । व्यवस्थित बसपार्कको अभावमा पर्यटक बस सञ्चालनमा कठिनाइ हुनुका साथै सडक व्यवस्थापन र पर्यटक सेवामा समेत समस्या देखिँदै आएको व्यवसायीहरूको भनाइ छ ।
टिवानका महासचिव प्रकाशचन्द्र अधिकारीका अनुसार संस्थाअन्तर्गत हाल दैनिक करिब १०० पर्यटकीय बस सञ्चालन हुँदै आएका छन् । ती बसमार्फत पोखरा, चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायत नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकलाई सेवा प्रदान गरिँदै आएको छ ।
पर्यटन क्षेत्रको विकासका लागि नाट्टा र टिवानबीच हुने सहकार्यले पर्यटक यातायात, पूर्वाधार, व्यवसायीका समस्या तथा पर्यटन प्रवर्द्धनसँग सम्बन्धित विषयमा साझा पहललाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।











