काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशन गरेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको निर्णय र निर्देशनविपरीत प्रदेश सरकार गठनमा समर्थन गरेको भन्दै थापामाथि कारबाही गरिएको जानकारी दिनुभयो । थापाले एमाले र नेकपा नेतृत्वको सरकारलाई समर्थन गरेका थिए ।
राप्रपाले थापाको उक्त समर्थनलाई अस्वीकार गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरेको थियो । तर पार्टीको आग्रह नमानेपछि उनलाई कारबाही गरिएको अध्यक्ष लिङदेनले बताउनुभयो ।
‘उद्धव थापालाई साधारण सदस्य र प्रदेशसभा सदस्यबाट कारबाही गरिएको छ,’ अध्यक्ष लिङदेनले भन्नुभयो ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको निर्णयविपरीत प्रदेश सरकार गठनमा समर्थन दिएको विषयलाई गम्भीर अनुशासन उल्लंघनका रूपमा लिँदै थापालाई कारबाही गर्ने निर्णय गरेको हो ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार केन्द्रीय अनुशासन समितिको सिफारिसमा थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने, पार्टी सदस्यबाट निलम्बन गर्ने र त्यससम्बन्धी जानकारी प्रदेशसभालाई पठाउने निर्णय गरिएको छ ।
अध्यक्ष लिङदेनले पार्टीको निर्णयविपरीत सरकारमा सहभागी हुने वा समर्थन गर्ने अन्य नेतामाथि पनि कारबाही हुने संकेत गर्नुभएको छ । उहाँले संसदीय दलका नेतालाई कारबाही भइसकेकाले अब सरकारमा सहभागी अन्य व्यक्तिमाथि पनि पार्टीको निर्णयअनुसार कारबाही अघि बढाइने बताउनुभयो ।










