२ भाद्र २०८३, मंगलवार
,
Latest
सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’ सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छः सांसद केरुङ हामी गोली खान तयार छौँ तर सरकारका गलत कार्यमा समर्थन गर्दैनौँः सांसद खातुन वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या समाधानका लागि संसदीय छानबिन समिति गठन गर्न माग विजय थापाको ‘आँसु बिक्ने सहर’ सार्वजनिक मकवानपुर स्कारपियो दुर्घटना : उपचारका क्रममा एक महिलाको मृत्यु सरकार जनसरोकारका मुद्दामा गैरजिम्मेवार बनेको अध्यक्ष राईको आरोप विपद् व्यवस्थापनदेखि परराष्ट्र नीतिसम्म सरकारको कार्यशैलीमाथि वर्षमान पुनको प्रश्न गाँजा खेतीलाई वैधानिकता दिन सांसद राईको मागः ‘यो आर्थिक समृद्धिको बलियो आधार’ विकासको प्राथमिकता भौतिक पूर्वाधार मात्र नभई उत्पादन र रोजगारी हुनुपर्छः सांसद कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाँजा खेतीलाई वैधानिकता दिन सांसद राईको मागः ‘यो आर्थिक समृद्धिको बलियो आधार’



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले गाँजा खेतीलाई तत्काल कानुनी मान्यता दिन सरकारसँग माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले गाँजा खेतीलाई आर्थिक समृद्धिको आधार बनाउन आवश्यक कानुन तथा विधि निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले गाँजा खेतीका कारण आफ्नो निर्वाचन क्षेत्र धनकुटाका १८ देखि ३० वर्ष उमेर समूहका धेरै युवा कानुनी झमेलामा परी जेलमा रहेको बताउँदै निर्दोष युवालाई तत्काल रिहा गर्न माग गर्नुभयो । गाँजा खेतीकै कारण स्थानीयमा निराशा र त्रास फैलिएको उहाँको भनाइ थियो ।

विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघले गाँजालाई लागुऔषधको सूचीबाट हटाएर औषधीय गुण भएको वनस्पतिका रूपमा प्रमाणित गरिसकेको दाबी गर्दै राईले विश्वका ६२ भन्दा बढी देशले गाँजाबाट आर्थिक लाभ लिइरहेको बताउनुभयो । भारतले समेत गाँजाबाट वार्षिक अर्बौँ रुपैयाँ आम्दानी गरिरहेको र विश्व बजारमा यसको माग उच्च रहेको उहाँको भनाइ थियो ।

गाँजाबाट क्यान्सर, क्षयरोग, मधुमेह र युरिक एसिडलगायत रोगको औषधि बनाउन सकिने भन्दै उहाँले नेपालमा गाँजा प्रशोधन केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । पहाडी जिल्लाबाट भइरहेको तीव्र बसाइँसराइ रोक्न तथा स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न गाँजा खेती महत्वपूर्ण आधार बन्न सक्ने उहाँले बताउनुभयो ।

“१८ देखि ३० वर्ष उमेर समूहका धेरै युवाहरू जीविकोपार्जनका लागि गाँजा खेती गर्दा आज जेलमा छन् । यसले गर्दा धनकुटाका जनतामा निराशा र त्रास छाएको छ,” उहाँले भन्नुभयो, “गाँजाबाट बनेका जुत्ता, मोजा र टोपी प्रयोग गर्न हुने तर यसको व्यावसायिक खेती र बिक्री गर्न किन नहुने ? यो गम्भीर प्रश्न हो ।”

गण्डकी प्रदेशले गाँजा खेतीसम्बन्धी कानुन निर्माण गरिसकेको उदाहरण दिँदै सांसद राईले संघीय सरकारले समेत यस विषयमा ढिलाइ गर्न नहुने बताउनुभयो ।

उहाँले गाँजा ओसारपसार तथा खेतीको आरोपमा पक्राउ परेका निर्दोष युवालाई तत्काल रिहा गर्न माग गर्दै समयमै कानुन निर्माण नगरिए जनतामा रहेको असन्तुष्टि विद्रोहको रूप लिन सक्ने चेतावनी दिनुभयो ।

प्राकृतिक स्रोतका रूपमा रहेको गाँजालाई वैधानिक दायरामा ल्याएर यसको उत्पादन, प्रशोधन र बजारीकरण गर्न सके मुलुकको अर्थतन्त्र सुदृढ बनाउन योगदान पुग्ने उहाँको निष्कर्ष थियो ।