काठमाडाैँ । इलाम नगरपालिका–८ र १० जोड्ने माईखोलास्थित काइलाटारमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ।
कोशी प्रदेश सरकारको लगानीमा आर्थिक वर्ष २०८२/८३ मा निर्माण सम्पन्न भएको उक्त पुल १७९ मिटर लामो छ। पुल निर्माणमा रु ८४ लाख ७१ हजार ४६० खर्च भएको पूर्वाधार विकास कार्यालय, इलामले जनाएको छ।
पूर्वाधार विकास कार्यालय, इलामका प्रमुख रञ्जय सिंहका अनुसार तिल्केनी–सिलपुर सडकअन्तर्गत काइलाटारमा पुल निर्माण भएपछि माईखोलाका वारिपारिका बस्तीबीच आवतजावत सहज भएको छ।
पुल निर्माण हुनुअघि वर्षायाममा माईखोला वारपार गर्न स्थानीयलाई राजदुवाली वा सिमलगोलाईको बाटो हुँदै घुमेर जानुपर्ने बाध्यता थियो। पुल बनेपछि घण्टौँको यात्रा गर्नुपर्ने बाध्यता हटेको स्थानीय सन्तोष गोलेले बताउनुभयो।
उहाँका अनुसार हिउँदयाममा खोला तरेर वारपार गर्न सहज भए पनि वर्षायाममा नजिकैका स्थानमा पुग्नसमेत लामो बाटो घुम्नुपर्ने अवस्था थियो। पुल बनेपछि उक्त समस्या समाधान भएको उहाँले बताउनुभयो।
झोलुङ्गे पुल निर्माणसँगै क्षेत्रमा घुमघाम, तस्बिर खिच्न तथा टिकटक बनाउन आउनेको सङ्ख्यासमेत बढ्न थालेको स्थानीयको भनाइ छ।
इलाम नगरपालिका–८ का वडाध्यक्ष दलमान तामाङका अनुसार मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि उक्त पुल हुँदै दुईचक्के सवारीसाधनको आवागमनसमेत बढेको छ।
“अहिले यही बाटो भएर दैनिक सयौँको सङ्ख्यामा मोटरसाइकल चल्न थालेका छन्,” वडाध्यक्ष तामाङले भन्नुभयो, “इलाम–राजदुवाली सडक बन्द रहेकाले सदरमुकामबाट मेची राजमार्ग जोड्ने छोटो दूरीको सडक भएकाले दुईचक्के सवारीका लागि यो उपयुक्त विकल्प बनेको छ।”
उहाँका अनुसार तिल्केनी–सिमलगोलाईको बाटो लामो दूरीको भएकाले दुईचक्के सवारीसाधनले काइलाटार हुँदै जाने सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालेका छन्।
तिल्केनी–सिलपुर सडक इलाम नगरपालिका–८ को तिल्केनीबाट छुट्टिएर इलाम नगरपालिका–१० गोदकस्थित सिलपुरमा मेची राजमार्गसँग जोडिन्छ।











