महोत्तरी । जिल्लाको एकडारा गाउँपालिकामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुर रहेका छन् ।
घरको भुइँमा नाङ्गो तार झरेको अवस्थामा गएराति अचानक सो तार छुन पुगेपछि बुबा सियारामको करेन्ट लागेको देखेर छोराछोरीले बचाउन खोज्दा उनीहरुलाई पनि करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका तीनै जनालाई जिल्ला अस्पताल जलेश्वरमा ल्याइएकामा सियारामको भने उपचारकै क्रममा मृृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते हुनेमा सियारामका १७ वर्षीय छोरा सुरेश ठाकुर र १० वर्षीया छोरी पूजाकुमारी रहेका छन् । उनीहरुको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।