काठमाडाैँ । झापाको कनकाई नगरपालिका–३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।
जिल्ला भूमि समस्या समाधान समितिले भूमिहीन दलित एक, भूमिहीन सुकुमवासी पाँच र अव्यवस्थित बसोबासी सात जनालाई जग्गाधनी पुर्जा वितरण गरेको हो ।
यसअघि यही साउन ८ गते समितिले कनकाईका पाँच जनालाई जग्गाधनी पुर्जा वितरण गरेको थियो । नगरपालिकाको भूमि प्रशासन शाखाका अनुसार गत वर्ष असारमा १५७ जनालाई धनीपुर्जा वितरण गरिएको थियो ।
तत्कालीन भूमि आयोगले आर्थिक वर्ष २०७९/८० देखि लगत सङ्कलनको काम सुरु गरेयता कनकाई नगरपालिकामा हालसम्म २५८ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको भूमि प्रशासन शाखा प्रमुख बद्रीकुमार दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार लगत सङ्कलनका क्रममा नगरपालिकामा भूमिहीन दलित ३७५, भूमिहीन सुकुमवासी दुई हजार २४४ र अव्यवस्थित बसोबासी चार हजार ५८८ जनाको विवरण सङ्कलन गरिएको छ ।
नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बाँकी रहेका लाभग्राहीलाई पनि क्रमशः जग्गाधनी पुर्जा वितरण गर्दै जाने बताउनुभयो ।
जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्लाभर जग्गाधनी पुर्जा वितरणका लागि लगत सङ्कलन तथा वितरण प्रक्रियालाई तीव्रता दिइएको बताउनुभयो ।
समितिका सदस्य सचिव तथा जिल्ला नापी कार्यालय, भद्रपुरका प्रमुख शिवप्रसाद लम्सालका अनुसार यसै महिना अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा पनि जग्गाधनी पुर्जा वितरण सुरु भएको छ । बुद्धशान्तिमा आगामी हप्ता थप जग्गाधनी पुर्जा वितरण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।











