काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी आवश्यक रहेको बताउनुभएको छ ।

नेपालका २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँग आयोजित छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको मुख्य आधार भएको बताउनुभयो । उहाँले मुलुकको आर्थिक विकास कुनै एक मन्त्रालय वा नीतिको एकल प्रयासबाट मात्र सम्भव नहुने भन्दै ‘होल अफ द नेशन’ अर्थात् एकीकृत राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्नुभयो ।
सरकारले निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई विकासको अभिन्न साझेदारका रूपमा हेरेको उहाँको भनाइ थियो । उद्योगले कमाएको नाफाबाट पुनः लगानी बढ्ने, त्यसबाट रोजगारी तथा आम्दानी सिर्जना हुने र अन्ततः त्यसले राज्यको राजस्वमा योगदान पुर्याउने भएकाले सरकार र निजी क्षेत्रको सम्बन्ध परिपूरक रहेको उहाँले बताउनुभयो ।
वैध रूपमा गरिएको लगानी र आर्जित मुनाफाको सुरक्षा गर्ने पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता पनि अर्थमन्त्री वाग्लेले व्यक्त गर्नुभयो । उहाँले उद्यमीहरूलाई नेपालमा थप लगानी गर्न, उद्योग विस्तार गर्न तथा नयाँ प्रविधि भित्र्याएर रोजगारीका अवसर सिर्जना गर्न आग्रह गर्नुभयो ।
सरकारले विगतका समस्याहरू सच्याउँदै लगानीमैत्री वातावरण निर्माण गर्न विशेष छुट तथा सुविधा घोषणा गरेको पनि उहाँले स्मरण गराउनुभयो ।
‘चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले स्पष्ट सन्देश दिएको छ कि सरकारको प्राथमिकता केवल कर सङ्कलन मात्र होइन,’ अर्थमन्त्री वाग्लेले भन्नुभयो, ‘हाम्रो मुख्य लक्ष्य उत्पादन, लगानी, नाफा र पुनरलगानीको चक्रलाई तीव्र बनाउनु हो । नेपालमा वैध रूपमा सिर्जना गरिएको सम्पत्ति र नाफाको सुरक्षा गर्नु राज्यको प्रमुख दायित्व हो ।’
ठूलो लगानी भित्र्याउन नियमको स्थिरता र कर प्रणालीको पूर्वानुमानयोग्यता आवश्यक रहेको उहाँले बताउनुभयो । लगानीकर्ताले सरकारको नीति तथा कर प्रणालीप्रति विश्वास गर्ने वातावरण निर्माण गर्नुपर्नेमा उहाँको जोड थियो ।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले कर प्रशासन, जग्गा प्राप्ति, ऊर्जा, श्रम, पूर्वाधार तथा कानुनी प्रक्रियामा रहेका समस्याबारे व्यवसायीहरूको प्रत्यक्ष अनुभव र सुझाव माग गर्नुभयो । सरकारले आगामी छ महिनाभित्र गर्नुपर्ने प्रमुख सुधार पहिचान गरी त्यसको ठोस कार्ययोजना बनाएर अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी उद्यमीहरूले नेपालमा लगानी गर्दा भोग्नुपरेका अवरोध तथा आवश्यक नीतिगत सुधारका विषयमा अर्थमन्त्रीसमक्ष सुझाव दिएका थिए । प्राप्त सुझावलाई सम्बोधन गर्दै सरकारले व्यवसायीहरूको मनोबल उच्च बनाउन प्रतिबद्ध रहेको अर्थमन्त्री वाग्लेले बताउनुभयो ।
न्यूजपोलार
२५ श्रावण २०८३, सोमबार १३:३२
न्यूजपोलार
२५ श्रावण २०८३, सोमबार १३:३२
२५ श्रावण २०८३, सोमबार १३:३२










