३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

राष्ट्रिय गौरवका आयोजना पूरा हुन अझै १० वर्ष लाग्ने, सुधार भए ३–५ वर्षमै सकिने

राष्ट्रिय गौरवका आयोजना पूरा हुन अझै १० वर्ष लाग्ने, सुधार भए ३–५ वर्षमै सकिने
अ+ अ-

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरू हालकै गतिमा अघि बढे सम्पन्न हुन अझै कम्तीमा १० वर्ष लाग्ने देखिएको छ । पूर्वाधार विकास समितिअन्तर्गत राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो ।

बजेटको स्रोत सुनिश्चितता, जग्गा प्राप्ति, रुख कटान, काम गर्ने समयको कमी तथा विभिन्न नीतिगत समस्याका कारण राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुन नसकेको उपसमितिका संयोजक श्रीराम न्यौपानेले बताउनुभयो । उपसमितिले राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न आवश्यक कानुनी तथा प्रशासनिक सुधारसहित विभिन्न सुझाव समेटेर प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा दिएका सुझाव कार्यान्वयन गरेर अघि बढे ३ देखि ५ वर्षभित्रै आयोजना सम्पन्न गर्न सकिने न्यौपानेको भनाइ छ ।

उहाँका अनुसार राष्ट्रिय गौरवका आयोजना निर्माण सुरु भएको करिब १५ वर्ष पुगिसक्दा पनि १५ वटा आयोजनाको औसत प्रगति करिब ५५ प्रतिशत मात्रै छ । ती आयोजनाको प्रगति करिब २० प्रतिशतदेखि ७० प्रतिशतसम्म रहेको छ । राम्रो प्रगति भएका आयोजनाको समेत वार्षिक प्रगति अधिकतम करिब ५ प्रतिशत मात्रै रहेको भन्दै उहाँले यही गतिमा काम अघि बढे आयोजना सम्पन्न हुन न्यूनतम थप १० वर्ष लाग्ने बताउनुभयो ।

न्यौपानेका अनुसार १७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न भइसकेको छ भने पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण अझै सुरु भएको छैन । उहाँले १५ वर्षअघि राष्ट्रिय गौरवका आयोजना घोषणा गर्दा न्यूनतम लागत करिब ३५ अर्ब रुपैयाँदेखि १ खर्ब रुपैयाँभन्दा बढी अनुमान गरिएका आयोजनाहरू अहिलेसम्म आइपुग्दा औसतमा ५५ प्रतिशत मात्रै सम्पन्न भएको बताउनुभयो ।

उपसमितिले राष्ट्रिय गौरवका आयोजनामा देखिएका प्रमुख समस्यामध्ये जग्गा प्राप्ति, वन तथा वातावरणसम्बन्धी स्वीकृति, बजेट सुनिश्चितता, निर्माण व्यवसायी र ठेक्का व्यवस्थापनलाई मुख्य अवरोधका रूपमा पहिचान गरेको छ । सबैजसो आयोजनामा जग्गा अधिग्रहण र मुआब्जा वितरणको समस्या देखिएको न्यौपानेले बताउनुभयो । विकास आयोजनाका लागि जग्गा प्राप्ति गर्न छुट्टै कानुनी व्यवस्था आवश्यक रहेको उहाँको भनाइ छ ।

हाल प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने जिल्ला समितिमार्फत जग्गा प्राप्ति गर्ने व्यवस्था प्रभावकारी नभएको भन्दै उपसमितिले सार्वजनिक तथा निजी जग्गा व्यवस्थापनसम्बन्धी छुट्टै ऐन बनाउन सुझाव दिएको छ । आयोजनाका लागि छिटो, पारदर्शी र स्पष्ट मापदण्डसहित जग्गा प्राप्तिको व्यवस्था गर्नुपर्ने न्यौपानेले बताउनुभयो । उहाँका अनुसार आयोजना ढिलाइ हुनुको प्रमुख कारणमध्ये जग्गा प्राप्तिको समस्या सबैभन्दा अगाडि देखिएको छ ।

आयोजना निर्माणमा अर्को प्रमुख समस्या वन तथा वातावरणसम्बन्धी कानुन र स्वीकृति प्रक्रियामा हुने ढिलाइ रहेको उपसमितिको निष्कर्ष छ । विशेषगरी जलविद्युत आयोजनामा रुख कटान तथा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृतिको प्रक्रियामा हुने ढिलाइले आयोजना लामो समय प्रभावित हुने गरेको न्यौपानेले बताउनुभयो । विकास निर्माणलाई गति दिन ‘सनसेट ऐन’ ल्याएर निश्चित अवधिका लागि ‘विकास दशक’ घोषणा गर्नुपर्ने उहाँको प्रस्ताव छ ।

न्यौपानेका अनुसार नेपालको कुल भूभागको करिब ४६ प्रतिशत वन क्षेत्र रहे पनि कुल गार्हस्थ्य उत्पादनमा वन क्षेत्रको योगदान करिब ३.५ प्रतिशत मात्रै छ । वन संरक्षण र विकास निर्माणलाई एकअर्काको विरोधीका रूपमा नभई समन्वय गरेर अघि बढाउनुपर्ने उहाँको धारणा छ । वन क्षेत्रबाट आर्थिक लाभ लिन नसकिएको र विकास निर्माणमा समेत वनसम्बन्धी कानुनी प्रक्रियाले अवरोध सिर्जना गरेको भन्दै उहाँले सुधार आवश्यक रहेको बताउनुभयो ।

उपसमितिले आयोजनामा बजेट सुनिश्चितता र समयमा भुक्तानी नहुनुलाई पनि प्रमुख समस्याका रूपमा औँल्याएको छ । निर्माण व्यवसायीको अनुभव तथा दक्षताको कमी र ठेक्का व्यवस्थापनमा सरकारी कमजोरीले समेत आयोजना प्रभावित भएको जनाइएको छ । काम नगर्ने निर्माण व्यवसायीसँग ठेक्का तोडेपछि पुनः नयाँ ठेक्का लगाउने प्रक्रियामा कानुनी तथा व्यावहारिक समस्या देखिने गरेको न्यौपानेले बताउनुभयो ।

सुनकोशी–मरिन डाइभर्सन आयोजनाको उदाहरण दिँदै उहाँले ठेक्का तोडिएपछि नयाँ निर्माण व्यवसायीलाई आयोजना स्थलमा प्रवेश गराउने विषयमा समेत कानुनी स्पष्टता आवश्यक रहेको बताउनुभयो । निर्माण सामग्री व्यवस्थापनमा पनि समस्या रहेको उपसमितिको निष्कर्ष छ । स्थानीय तहबाट गिटी–बालुवा लगायत निर्माण सामग्रीमा हुने अवरोध, निर्माण व्यवसायीले आवश्यक सामग्री व्यवस्थापन गर्न नसक्नु तथा मेसिन र निर्माण सामग्री आयात गर्दा भन्सार तथा करसम्बन्धी प्रक्रियाका कारण सामग्री भन्सारमै रोकिँदा आयोजनाको काम प्रभावित हुने गरेको जनाइएको छ ।

त्यस्तै, आयोजना प्रमुख तथा जनशक्ति छनोट, मेसिन–उपकरणको छनोट, अन्तरनिकाय समन्वय र संघ, प्रदेश तथा स्थानीय तहबीचको समन्वयमा कमजोरीसमेत आयोजनाको प्रगतिमा बाधक बनेको उपसमितिले जनाएको छ । आयोजना, निर्माण व्यवसायी, परामर्शदाता तथा मध्यस्थकर्ताबीच हुने विवाद समाधानमा समेत जटिलता रहेको छ । कतिपय आयोजना मध्यस्थकर्ताको तहमा पुग्ने र कतिपय अदालतमा मुद्दा परेर लामो समय अल्झिने गरेको न्यौपानेले बताउनुभयो ।

डिजाइन परिवर्तन, भेरिएसन, समय थप, मूल्यवृद्धि तथा निर्माण व्यवसायीका दाबी भुक्तानी (क्लेम सेटलमेन्ट) सम्बन्धमा स्पष्ट कानुन र मापदण्डको अभाव रहेको उहाँको भनाइ छ । सार्वजनिक खरिद ऐन संशोधन भएर केही समस्या सम्बोधन भए पनि अझै सुधार आवश्यक रहेको उपसमितिको निष्कर्ष छ । आयोजना कार्यान्वयनमा देखिएका समस्या पहिचान गरी सार्वजनिक खरिदसम्बन्धी व्यवस्थालाई थप सूक्ष्म विश्लेषणसहित सुधार गर्नुपर्ने न्यौपानेले बताउनुभयो ।

उहाँले विकास आयोजनाको कामलाई अनुगमन र छलफलमा मात्रै सीमित नगरी तत्काल अवरोध हटाउने कानुनी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्न दिनमा ८ घण्टा काम गरेर मात्रै नपुग्ने भन्दै आयोजना ‘फुलफेज’मा सञ्चालन गर्नुपर्ने उहाँको सुझाव छ ।

उपसमितिले राष्ट्रिय गौरवका आयोजनामा देखिएका १५ प्रमुख चुनौती पहिचान गर्दै ती समस्या समाधानका लागि विभिन्न सुझाव दिएको छ । उपसमितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग र सुनकोशी–मरिन डाइभर्सन आयोजनाको स्थलगत अनुगमन गरेको थियो भने अन्य आयोजनाका प्रमुख तथा विज्ञसँग आयोजनाको अवस्थाबारे प्रस्तुतीकरण र छलफल गरेको थियो । सबै आयोजनाको प्रस्तुतीकरण तथा विज्ञसँगको छलफलपछि प्रतिवेदन तयार पारिएको संयोजक न्यौपानेले जानकारी दिनुभयो ।