काठमाडाैँ । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले संसदको गरिमा कायम गर्न सांसद, प्रधानमन्त्री तथा मन्त्रीका लागि औपचारिक पोशाक अनिवार्य गर्न माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले संसदमा टिसर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सललगायतका पोसाकमा संसदको लोगो प्रयोग गर्न रोक लगाउनुपर्ने बताउनु भयो । उहाँले बैठकमा सांस्कृतिक पोशाक वा राष्ट्रिय पोसाक अनिवार्य उगर्न सभामुखको ध्यानाकर्षण गराउनु भयो ।
सांसद पोखरेलले प्रधानमन्त्री तथा मन्त्रीलाई टिसर्ट लगाएर आए संसद प्रवेशमा रोक लगाउनुपर्ने माग गर्नुभयो । उहाँले संसदीय पोसाकसम्बन्धी अनुशासन कायम गर्न रुलिङ गर्न सभामुखसमक्ष आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सन् २०२१को फेब्रुअरी ९ मा न्युजिल्याण्डको संसदमा रविरी वैतिती नामका सांसदले उपनिवेशिक पासो भन्दै टाई लगाउन अस्वीकार गरेकाले उनलाई संसदीय रुलिङमार्फत सदनबाट निष्काशन गरिएको थियो । सन् २०२३ मा क्यानडाको संसदमा पोसाकसम्मिता लागु गर्न संसदीय रुलिङ भएको थियो । संसदको गरिमा कायम गर्न सांस्कृतिक पोसाक वा राष्ट्रिय पोसाक वा औपचारिक पोसाक अनिवार्य गरियोस् । प्रधानमन्त्री र मन्त्रीलाई टिसर्ट लगाएर संसदभित्र प्रवेश गर्न रोक लगाइयोस् । संसदको लोगो कोट, हाफ कोटबाहेक टिसर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सल आदीमा लगाउन रोक लगाइयोस् । संसदीय पोसाकसम्बन्धी अनुशासन कायम गर्न रुलिङको माग गर्दछु ।’
उहाँले न्यूजिल्याण्ड र क्यानडाको संसदमा पोशाक सम्बन्धीको नियम तथा रुलिङको उदहरण समेत प्रश्तुत गर्नुभयो ।











