२५ श्रावण २०८३, सोमबार
,
Latest
सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव लागुऔषधसहित पाँच जना पक्राउ पाल्पामा पिकअप जिप ११० मिटर तल खस्दा १० जना घाइते शीत भण्डार बनेपछि स्याङ्जाकाे रत्नपुरका आलु उत्पादक किसान उत्साहित गाईजात्राको अवसरमा ‘जोगिन्दर’ले ल्याए ‘बालेन सरकार’, राजनीतिदेखि सामाजिक प्रवृत्तिसम्म व्यंग्य आङ सान सुकीको पूर्ण रिहाइको आसियान माग म्यान्मा सरकारद्वारा अस्वीकार कावासोतीमा टायर पन्चर भएर माइक्रोबस पल्टिँदा ६ जना घाइते बजार अनुगमनमा कारबाही : खरिद बिल नराख्ने पसललाई २० हजार जरिवाना विपद्का घटना बढे, एकै दिन ४१ घटना यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति



अ+ अ-

काठमाडौँ।यमनको विद्रोही समूह हुथीले लाल सागर (रेड सी) स्थित मोचा बन्दरगाह र पश्चिमी तटीय क्षेत्रका सरकारी नियन्त्रित इलाकाहरूमा आईतवार श्रृंखलावद्ध मिसाइल तथा ड्रोन आक्रमण गरेको छ ।

उक्त आक्रमणमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । स्थानीय चिकित्सा स्रोतकाअनुसार मृत्यु हुनेमा चार सर्वसाधारण र चार सरकारी सेना रहेका छन् ।

दक्षिण–पश्चिमी ताइज प्रान्तमा पर्ने रणनीतिक मोचा बन्दरगाह र आसपासका क्षेत्रमा हुथी समूहले भीषण आक्रमण गर्दा ठूलो मानवीय र भौतिक क्षति भएको हो । मोचा बन्दरगाहका निर्देशक अब्दुल मलिक अल–शराबीले हुथी समूहले दर्जनौँ ड्रोन प्रहार गरेको जानकारी दिए ।

उनकाअनुसार करिव २५ वटा ड्रोनले आर्थिक प्रतिष्ठान, कर्मचारी आवास र भन्सारको गोदाममा प्रत्यक्ष प्रहार गरेका थिए । यमनको यातायात मन्त्रालयले ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहारबाट बन्दरगाहको पूर्वाधारमा गम्भीर क्षति पुगेको जनाएको छ ।

घटनापछि सरकारी नियन्त्रित क्षेत्रका बन्दरगाह, विमानस्थल र सीमा नाकाहरूमा सुरक्षा शतर्कता उच्च पारिएको र आपत्कालीन उपायहरू अवलम्बन गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

हुथी सैन्य प्रवक्ता याह्या सारियाले सामाजिक सञ्जालमार्फत उक्त आक्रमणको जिम्मेवारी लिएका छन् । उनले साउदी समर्थित सेनाको सैन्य भण्डार र केन्द्रहरूलाई लक्षित गरी ठूलो परिमाणमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार गरिएको दाबी गरे । साउदी नेतृत्वको सैन्य परिचालन र तटीय क्षेत्रमा भएका पछिल्ला आक्रमणको जवाफमा यो कारबाही गरिएको हुथी पक्षको तर्क छ ।

सोही दिन हुथी समूहले साउदी अरबको जाजानस्थित साउदी अराम्को रिफाइनरीमा पनि ड्रोन आक्रमण गरेको दाबी गरेको छ । साउदी ऊर्जा मन्त्रालयले रिफाइनरीको एक हिस्सामा लागेको आगो नियन्त्रणमा लिइएको र कुनै मानवीय क्षति नभएको पुष्टि गरेको छ ।

यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ । हुथी विद्रोहीले राजधानी सानालगायत उत्तरी यमनको ठूलो हिस्सा कब्जा गरेपछि सन् २०१५ देखि साउदी नेतृत्वको गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा सैन्य हस्तक्षेप गर्दै आएको छ ।

पछिल्लो समय हुथी समूह र साउदी अरबबीच तनाव पुनः चुलिएको छ, जसले गर्दा लाल सागरको जलमार्ग र तेल पूर्वाधारहरूमा आक्रमणका घटनाहरू बढेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल