१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सडक बालबालिकाकाे उद्धार र संरक्षण कार्य देशव्यापी बनाउँछाैं’ पाेखरेल



अ+ अ-

काठमाडाैंः उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले सडक बालबालिकाको उद्धार र व्यवस्थापन गर्ने कार्य देशव्यापी बनाउँदै लगेको बताउनुभएको छ । काठमाडौँ उपत्यकाबाट शुरु भएको उक्त कार्यक्रम क्रमशः देशव्यापी बनाइने जानकारी दिनुभयो ।

बाल दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा राजधानीमा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री पोखरेलले बालश्रम निवारणका लागि सरकारले गुरुयोजना निर्माण गरी कार्यान्वयनमा ल्याएको समेत बताउनुभयो ।

“काठमाडौँ उपत्यकाबाट शुरु गरिएको सडक बालबालिकाको उद्धार र व्यवस्थापन कार्य उपत्यकाबाहिर पनि विस्तार हुँदै गएको छ, नेपाल सरकार सबै बालबालिकाका लागि शिक्षा र स्वास्थ्य सुविधा पाउने कानूनी व्यवस्थालाई प्रत्याभूति दिलाउन प्रतिबद्ध छ”, उप्रममन्त्री पोखरेलले भन्नुभयो ।

उहाँले बालबालिकाविरुद्ध हुने सबै प्रकारका शोषण र दुव्र्यवहारविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अपनाएको बताउनुभयो ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालको संवैधानिक कानूनी तथा नीतिगत व्यवस्थाले बालअधिकार सुनिश्चित गरेको चर्चा गर्दै बालबालिकाको पक्षमा प्रभावकारी नतिजा ल्याउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपालले २०४७ भदौ २९ मा संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ लाई अनुमोदन गरेको थियो । सोही दिनको सम्झनामा हरेक भदौ २९ गते बालदिवस मनाउँदै आएको हो ।