रूपन्देही। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको बसाइ अवधि लम्ब्याउन सुविधासम्पन्न होटल तथा गुणस्तरीय आतिथ्य सेवामा निजी क्षेत्रले लगानी विस्तार गर्नुपर्ने बताउनुभएको छ ।
होटल सङ्घ नेपाल, लुम्बिनी प्रदेश तदर्थ समिति गठन तथा घोषणा कार्यक्रममा आज मुख्यमन्त्री आचार्यले पर्यटक आगमन बढाउनुमात्र पर्याप्त नभई उनीहरूलाई लामो समयसम्म बस्ने वातावरण सृजना गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले पर्यटकीय सम्भावना भएका नयाँ गन्तव्यको पहिचान गरी त्यहाँ सुविधासम्पन्न होटल सञ्चालनमा निजी क्षेत्रलाई लगानी गर्न आग्रह गर्नुभयो । उहाँले गुणस्तरीय सेवा, आवास र आतिथ्य व्यवस्थाले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताउँदै पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । भैरहवा र रुपन्देहीका व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालनको माग गरिरहेको उल्लेख गर्दै उहाँले सुरक्षा निकायसँग समन्वय गरी २४सै घण्टा होटल व्यवसाय सञ्चालन गर्न सकिने वातावरण बनाउन प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले भारतीय अधिकारीहरूसँग पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको जानकारी दिँदै भारतीय पर्यटकलाई लक्षित गरी उनीहरूको स्वाद र संस्कृतिअनुसारका शाकाहारी भोजन उपलब्ध गराउने होटल सञ्चालनको राम्रो सम्भावना रहेको उल्लेख गर्नुभयो ।
उहाँले प्रदेशमा सडक पूर्वाधार विस्तारले उल्लेखनीय प्रगति गरेकाले अब पर्यटकलाई गन्तव्यसम्म पुर्याउनेभन्दा पनि त्यहाँ गुणस्तरीय आवास, सेवा सुविधा र पर्यटनमैत्री वातावरण विकासमा ध्यान केन्द्रित गर्नुपर्ने धारणा राख्नुभयो ।
राज्य र निजी क्षेत्रबीचको सहकार्यलाई समृद्धिको आधार बताउँदै मुख्यमन्त्री आचार्यले निजी क्षेत्रको सम्मान र संरक्षण प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । निजी क्षेत्रका समस्या समाधानमा सरकार सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो ।
मुख्यमन्त्री आचार्यले चालु आर्थिक वर्षको बजेटमार्फत युवा उद्यमशीलता प्रवर्द्धन, कृषि तथा उद्यम क्षेत्रमा सहुलियतपूर्ण लगानी र ब्याज अनुदानका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले यस्ता कार्यक्रमले पर्यटनसँगै प्रदेशको समग्र आर्थिक गतिविधिलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।रासस











