२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

अघि बढ्यो इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया, जायज माग मात्रै सम्बोधन गर्न सकिने सञ्चारमन्त्री तिमिल्सिनाको भनाई

अघि बढ्यो इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया, जायज माग मात्रै सम्बोधन गर्न सकिने सञ्चारमन्त्री तिमिल्सिनाको भनाई
अ+ अ-

काठमाडाैँ । सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी रहेको दूरसञ्चार सेवा शुल्क, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) वापतको बक्यौता असुलीको विषय टुंग्याउने तयारी थालेको छ । बक्यौता रकम, कर निर्धारण र लाइसेन्स नवीकरणसँग सम्बन्धित लामो समयदेखिको विवाद समाधान गर्ने उद्देश्यले सूचना तथा सञ्चार मन्त्रालयले सरोकारवालासँग छलफललाई तीव्रता दिएको हो ।

यसै क्रममा बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) का पदाधिकारीसँग छलफल गर्नुहुँदै कानुनअनुसार तिर्नुपर्ने कर तथा शुल्क कुनै पनि हालतमा असुल गरिने स्पष्ट पार्नुभयो । “यदि विद्यमान कानुनविपरीत इन्टरनेट सेवा प्रदायकलाई अन्याय हुने गरी कर वा शुल्क निर्धारण भएको रहेछ भने सरकारले त्यसको पुनरावलोकन गर्न सक्छ । तर कानुनले तिर्नुपर्ने भनेको रकम सधैँ अल्झाएर राख्न सकिँदैन । जायज समस्या भए सरकारले सम्बोधन गर्छ, होइन भने बक्यौता असुली प्रक्रिया अघि बढ्छ,” उहाँले भन्नुभयो ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्र सुधारको वर्षका रूपमा अघि बढाइरहेको उल्लेख गर्नुहुँदै वर्षौँदेखि समाधान हुन नसकेका नीतिगत तथा प्रशासनिक समस्या टुंग्याईने बताउनुभयो । उहाँले सेवा प्रदायक कम्पनीहरूले भोगिरहेका समस्या, सरकारमार्फत अपेक्षा गरिएका विषय तथा सुधार गर्नुपर्ने पक्षलाई स्पष्ट रूपमा लिखित सुझावका रूपमा पेश गर्न पनि आइस्पानसँग आग्रह गर्नुभयो ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले बक्यौता नतिरेसम्म उनीहरुको लाइसेन्स नवीकरण गर्न नसकिने बताउँदै आएको छ । आजको छलफलका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले कानुनले तिर्नैपर्ने रकम नतिरी सेवा सञ्चालन र लाइसेन्स नवीकरणको अपेक्षा राख्न नहुने बताउनुभयो । साथै, नेपालमा इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायक कम्पनीको संख्या धेरै भएकाले प्रभावकारी नियमन तथा अनुगमनमा चुनौती देखिएको उल्लेख गर्नुगर्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले ती संस्थाहरु गाभ्ने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)मा जाने सकिने बताउनुभयो । धेरैवटा कमजोर कम्पनी रहनुभन्दा सीमित संख्यामा सक्षम तथा वित्तीय रूपमा सबल सेवा प्रदायक हुनु उपभोक्ता र नियामक दुवैका लागि लाभदायक हुने उहाँको धारणा थियो ।

छलफलमा आइस्पानले भने सेवा प्रदायक कम्पनीहरू आर्थिक रूपमा गम्भीर दबाबमा रहेको र एकैपटक पाँच वर्षसम्मको बक्यौता तिर्न सम्भव नभएको भन्दै किस्ताबन्दीमा भुक्तानी गर्न पाउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । सङ्घले विशेषगरी रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष वापतको बक्यौता रकम किस्ताबन्दीमा बुझाउने सुविधा उपलब्ध गराउनुपर्ने माग गरेको हो ।

आइस्पानका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नतिर्ने कम्पनीहरूको लाइसेन्स नवीकरण नगर्ने निर्णय गरेपछि अधिकांश सेवा प्रदायक थप समस्यामा परेका छन् । लाइसेन्स नवीकरण रोकिँदा सेवा विस्तार, बैंकिङ कारोबार तथा व्यवसाय सञ्चालनमै असर परेको सङ्घको भनाइ छ ।

आइस्पानले दूरसञ्चार सेवा शुल्क (टिएससी) निर्धारणको विषयमा पनि पुनरावलोकन आवश्यक रहेको माग राख्दै आएको छ । साथै, ठूला करदाता कार्यालयले गरेको कर निर्धारण पुनः निर्धारण (रिअसेसमेन्ट) गर्ने अवसर उपलब्ध गराउनुपर्ने माग पनि सङ्घले राखेको छ । छलफलमा सेवा प्रदायकहरूले आफूहरूले ग्राहकबाट असुल नै नगरेको रकममा समेत कर तिर्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गरेका थिए ।

हाल अधिकांश इन्टरनेट सेवा प्रदायकहरूले आन्तरिक राजस्व कार्यालयलाई तिर्नुपर्ने करबाहेक सूचना तथा सञ्चार मन्त्रालयलाई बुझाउनुपर्ने कुल आम्दानीको चार प्रतिशत रोयल्टी तथा नेपाल दूरसञ्चार प्राधिकरणमार्फत ग्रामीण दूरसञ्चार विकास कोषमा बुझाउनुपर्ने कुल आम्दानीको दुई प्रतिशत रकमसमेत तिर्न बाँकी रहेको छ । प्रचलित कानुनअनुसार अडिट गरिएको वित्तीय विवरणका आधारमा यी रकम थप दस्तुरसहित सम्बन्धित निकायमा दाखिला गर्न नियामक दूरसञ्चार प्राधिकरणले पटक–पटक परिपत्र गरेपनि सेवा प्रदायकहरुले अटेरी गर्दै आएका छन् ।

महालेखापरीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदनमार्फत सेवा प्रदायक कम्पनीहरूबाट उठ्न बाँकी रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष तथा अन्य शुल्कको विषयलाई बेरुजुका रूपमा औँल्याउँदै त्यसलाई असुल गर्नुपर्ने बताउँदै आएको छ ।